एक्लै बस्ने र विवाह नगर्ने प्रवृत्ति बढ्दो : नेपालमा एकल महिलाको संख्या १० लाख नजिक

केन्द्रभाग मिडिया

पछिल्लो समय नेपालमा एक्लै बस्ने र विवाह नगर्ने प्रवृत्ति बढ्दो रहेको छ ।

राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकअनुसार नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेको देखाएको छ।सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणनाको तथ्यांकबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्यांक सार्वजनिक गरेको हो।

तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी एकल महिलामा विधवा बढी रहेको देखाएको छ। नेपालको ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला रहेको पाइएको छ।

एकल महिलामा विधवा, सम्बन्धविच्छेद भएको, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला समावेश गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक राजन सिलवालले बताए।

उनका अनुसार, ७ लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेका छन्। कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला छन्। एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला छन्।

अध्ययन गर्दा विधवा, सम्बन्ध विच्छेद, भिन्न बस्ने र अविवाहित बस्ने गरी चार समूहलाई जोडेर एकल महिलाको तथ्यांक विश्लेषण गरिएको सिलवालले बताए।

विधवा र अन्य एकल महिला रहेका घरपरिवारका विशेषता एकै प्रकारका रहेको उनको भनाइ छ।२०५८ को जनगणनामा एकल महिला ३.७ प्रतिशत मात्र रहेकोमा २०७८ मा झन्डै दोब्बरले वृद्धि भएको उनले जानकारी दिए।

सिलवालका अनुसार, विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दरमा वृद्धि भएको छ। ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात पनि बढेर ०.५ प्रतिशतबाट ०.७ प्रतिशत पुगेको छ।

  • १७ मंसिर २०८१, सोमबार १५:२६ प्रकाशित