रंगभेदी व्यवहार देखाएको भन्दै जनमतले माग्यो सभामुखको राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनमत पार्टीले संसदमा रंगभेदी व्यवहार देखाएको भन्दै सभामुख देवराज घिमिरेको राजीनामा मागेको छ । समानुपातिक सांसद गोमा लाभ सापकोटालाई सभामुख घिमिरेले नहटाएको प्रति आपत्ति जनाउँदै जनमतले उनको राजीनामा माग गरेको हो ।

जनमतका प्रवक्ता शरदसिंह यादवले सोमबार विज्ञप्ति निकालेर सभामुख घिमिरे कुनै पार्टी विशेषको एउटा कार्यकर्ता बनेर आफ्नो क्षेत्राधिकार दुरुपयोग गरेको आरोप लगाए । दलको कारबाहीलाई बदर गर्दा संसद सचिवालयले दलको सर्वोच्चता हनन् गरेको जनमतले टिप्पणी गरेको छ ।

‘कोही प्रतिनिधि सभा सदस्य सभामुखको नातेदार र समुदायको मान्छे पर्‍यो भन्दैमा र सभामुखको (पूर्व) पार्टी नेकपा एमालेमा जाने प्रतिबद्धता गर्‍यो भन्दैमा जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्‍याई कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैरसंवैधानिक कदमद्वारा रक्षा गर्ने सभामुखले अबिलम्ब राजीनामा दिनुपर्दछ,’ जनमतको विज्ञप्तिमा भनिएको छ ।

सभामुख घिमिरेले संसदमा नश्लवादी र रंगभेदी व्यवहार देखाएको जनमतले आरोप लगाएको छ ।

  • १७ मंसिर २०८१, सोमबार १४:५३ प्रकाशित