२० औं लेखनाथ महोत्सव पौष १८ गतेदेखि, स्टल बुकिङ खुला

केन्द्रभाग मिडिया

पोखरा ।

आगामी पौष १८ गतेदेखि २० औं लेखनाथ महोत्सव सुरु हुने भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने लेखनाथ महोत्सव माघ १ गतेसम्म सञ्चालन हुने आज पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।

आयोजकको अनुसार महोत्सव पोखरा महानगरपालिका वडा नम्बर २७ डाडाँको नाक, तालचोकमा सञ्चालन हुने भएको छ ।

महोत्सवमा स्टल राख्न चाहनेहरुको लागि आजै मंसिर १७ गतेदेखि स्टल बुकिङ खुल्ला गरिएको आयोजकले लेउवा संघकी महासचिव तथा महोत्सव प्रचार प्रसार उपसमितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।

संयोजक अधिकारीको अनुसार आजदेखि खुला भएको स्टल बुकिङका लागि सदस्यहरुलाई विशेष प्राथमिकता राखिएको छ । अन्य व्यवसायीहरुका लागि मंसिर २४ गतेदेखि बुकिङ खुल्ला गरिने छ ।

महोत्सवमा ३३६ वटा स्टल राखिने जसमध्ये अटो प्रर्दशनीका ६, शैक्षिक÷ग्रामिण प्रविधि प्रदर्शनीका १२, कृषि प्रदर्शनीका ३६, किचन सामाग्रीका २५, मेशीनरीका १०, हस्तकला प्रदर्शनीका १६, गार्मेन्ट तथा रेडिमेटका १०८, जनरल २६, फुण्ड एण्ड बेभरज प्रदर्शनीका १६, डेरी प्रदर्शनीका ९, नेपाली उत्पादन प्रदर्शनीका २२, खाना महोत्सवका १७ र बैंक तथा वित्तिय संघसंस्था तथा प्रायोजक अन्तर्गतका ३३ वटा स्टल रहने संयोजक अधिकारीले बताइन् । सदस्यले स्टल राखेमा २० प्रतिशत छुट र ढुवानीका लागि थप २ हजार रुपैयाँ पनि उपलब्ध गराइने उनले जानकारी दिइन् ।

स्थानीय कृषि तथा औद्योगिक उत्पादनमा प्रर्वद्धन, हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशिलता, सृजनशिलतामा जोड दिनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक लेउवा संघले बतायो । यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित वस्तु तथा सेवाहरुको प्रदर्शनी, जातिय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं वाह्य पर्यटक प्रर्वद्धन गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

महोत्सवको मुख्य आर्कषणमा सुगम संगित तर्फ पप कन्सर्ट र लाइभ व्यान्डको प्रस्तुती तथा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको लोकदोहोरी तथा हास्यव्यङ्गय कार्यक्रम रहने आयोजकले बताएको छ ।

यसपाली महोत्सवमा पहिलो पटक महिलाहरुको क्षमता अभिवृद्धिका लागि महिला समुहहरुबीच हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । यस्तै महोत्सवमा नव प्रतिभा खोजि अन्तर्गत खुल्ला युगल जोडी नृत्य प्रतियोगिता हुने छ । महोत्सवको थप आकर्षणको रुपमा यस वर्ष एशियाका ज्योतिको रुपमा चिनिने शान्तिका दुत गौतम बुद्धको प्रतिमा राखिने भएको छ ।

लेखनाथ क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविकविविधता, दुग्ध जन्य उत्पादन लगायतको बिक्री एवम् प्रदर्शनी, फुड फेस्टिवल, अटोमोबाइ प्रदर्शनी, शैक्षिक प्रदर्शनीहरु, विद्यालय स्तरीय खुल्ला चित्रकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार लगायत महोत्सवका आर्कषणमा रहेको आयोजकको भनाई छ ।

महोत्सवको पूर्वसन्ध्यामा झाँकी प्रर्दशनी तथा विभिन्न जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रर्दशनी गरिने छ । भने महोत्सवमा महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित कार्यक्रम पनि रहेको छ ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास संमृद्धि’ भन्ने नारासहित सञ्चालन हुन लागेको महोत्सवलाई व्यवस्थित बनाउनका लागि विभिन्न समिति उपसमिति गठन भएको छ । जसअन्तर्गत ९ सदस्सीय निर्देशक समिति, ३९ सदस्यीय सल्लाहकार समिति, ४७ वट उप समिति र ११७ सदस्यीय कार्यसम्पाद समिति गठन भएको छ ।

लेखनाथ क्षेत्रको समग्र आर्थिक विकास र उद्योगी व्यवसायीको हकहितको संरक्षण र सम्र्वद्धन गर्ने उद्देश्यको साथ २०५४ साल असार २० गते लेखनाथ उद्योग वाणिज्य संघको स्थाना भएको हो ।

  • १७ मंसिर २०८१, सोमबार १०:४० प्रकाशित