प्रजिअ भुषालको सक्रियाता पछि मुक्तिनाथ विकास समिति पुर्नगठन

केन्द्रभाग मिडिया

मुक्तिनाथ विकास समिति पुर्नगठन । समितिको अध्यक्ष समेत रहेका प्रजिअ बिष्णुप्रसाद भुसाललाई पद तथा गोपनीयताको सपथ खुवाउदै जिल्ला न्यायधिस ओमबहादुर सोडारी । तस्विर : सुन्दरकुमार थकाली

 

जोमसोम ।
मुक्तिनाथ विकास समिति कार्यसमिति पुर्नगठन भएको छ । १७ वर्षपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुषालको सक्रियतामा आइतबार सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा कार्यसमिति पुर्नगठन गरेको हो । लामो समय मुक्तिनाथ विकास समितिको कार्यसम्पादन निस्क्रिय रहँदा त्यसले समग्र मुक्तिनाथ क्षेत्रको बृहत्तर विकासमा बाधा अवरोध पुगेको उल्लेख गर्दै समिति पुर्नगठनको पहल भएको थियो ।

मुक्तिनाथ विकास समितिलाई नयाँ सिराबाट अगाडी बढाएर मुक्तिनाथमा चढाईएको भेटी भक्तजनकै हितका लागि व्यवस्थापन गर्ने उद्देश्यले लामो समयदेखि निस्क्रिय समितिलाई जिवित तुल्याएको छ । मुक्तिनाथ विकास समितिको साधारण सभाले (पहिलो विधान सशोधन) २०८१ को दफा १३ बमोजिम समिति पुर्नगठन गरेको हो । पुर्नगठित समितिको कार्यसमिति ३१ सदस्ययीय हुने गरी निर्माण गरिएको छ ।

समितिको सशोधित विधान बमोजिम मुस्ताङका प्रमुख जिल्ला अधिकारीले साविककै अनुसार अध्यक्ष हुने व्यवस्था मिलाइएको छ । समितिको पदाधिकारी सदस्यहरुमा उपाध्यक्ष वा।रागुङ मुक्तिक्षेत्रका अध्यक्ष, मालपोत कार्यालयका प्रमुख सदस्य सचिव, सम्वन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव र सम्वन्धित वडाका वडाध्यक्ष कोषाध्यक्षमा रहने सशोधित विधानमा उल्लेख छ ।

यसैगरी समितिको सदस्यहरुमा सम्वन्धित पालिकाबाहेक मुस्ताङका अन्य ४ पालिकाका अध्यक्ष,जिल्ला सरकारी वकिलको कार्यालय,जिल्ला समन्वय समिति, नेपाली सेना, सशस्त्र प्रहरी,नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुख,कोष तथा लेखा नियन्त्रक प्रमुख,मुक्तिनाथका प्रमुख पुजारी, प्रमुख लामा,झुमा प्रमुख, कागबेनी,झोङ र सुर्खाङ गाउँ रहेका वडाध्यक्ष, मुक्तिनाथ क्षेत्रको विकासमा विशेष योगदान पू¥याउने जिल्लाका समाजसेवी मध्येबाट ५० प्रतिशत महिला सहभागिता रहने गरी मुक्तिनाथ क्षेत्रबाट ५ जना सहित ८ जना र प्रदेश सरकारका जिल्ला स्थित कार्यालयमध्येबाट अध्यक्षले तोकेको कार्यालयको प्रमुख सदस्य हुने प्रावधान सशोधित विधानमा समेटिएको छ ।

यसगरी मुक्तिनाथ विकास समितिको साधारण सभाले सल्लाहाकार समिति र विशेष समितिको पद समेत सृृजना गरेको छ । मुक्तिनाथ विकास समितिको बृहत्तर विकासमा उचित परामर्श दिने र समितिको कार्यसम्पादनलाई मार्गदर्शन दिशातर्फ अग्रसर गराउने उद्देश्यले सल्लाहाकार समिति र विशेष समितिको परिकल्पना गरिएको हो । समितिको सल्लाहाकारमा प्रतिनिधि सभा,राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरु सल्लाहाकार समितिमा हुनेछन् । संविधान सभा सदस्यहरु,प्रतिनिधि,राष्ट्रिय र प्रदेश सभाका निवर्तमान सदस्यहरु र जिसस प्रमुख सल्लाहाकार समितिमा रहने छन् ।

मुस्ताङ जिल्लामा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख,मुक्तिनाथ क्षेत्रको विकासमा विशिष्ट योगदान पु¥याउने संस्थापक सदस्यहरु,हिन्दु तथा बौध धर्मका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त धार्मिक,आध्यात्मिक व्यक्तित्वहरु र नागरिक समाजका प्रतिनिधिलाई सल्लाहाकार समितिको बैठकमा आमन्त्रित गर्न सकिने छ ।

मुक्तिनाथको विशेष समितिमा कार्यसमितिका अध्यक्ष,उपाध्यक्ष,सचिव र कोषाध्यक्ष,५ वटै पालिका प्रमुख,संघीय तथा प्रदेश सांसदहरु, संविधान सभा सदस्यहरु र जिसस प्रमुख रहने विधानमा समावेश छ । यसअघि मुक्तिनाथ विकास समितिका अध्यक्ष समेत रहेका प्रजिअ बिष्णुप्रसाद भुसालले समितिको विधान सशोधनको प्रस्ताव तथा विधान बमोजिम पुर्नगठिन समितिको खाकासहितको प्रतिवेदन साधारण सभामा पेश गरेका थिए । यसैगरी समितिका सदस्य सचिव सूर्यप्रसाद अर्यालले समितिको आर्थिक प्रतिवेदन पेश गरेका थिए । समितिको साधारण सभाले मुक्तिनाथ विकास समितिको २०६४ सालको विधानलाई सशोधनसहित सर्वसम्वत पारीत गरेको छ ।

समितिको विधान संशोधनपछि पूनः अध्यक्ष हुन पाउने प्रावधान अनुसार समितिका अध्यक्ष एवं प्रजिअ बिष्णुप्रसाद भुसाललाई जिल्ला न्यायधिस ओमबहादुर सोडारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । समितिका अध्यक्ष एवं प्रजिअ भुसालले मुक्तिनाथ विकास समितिमा रहेका सदस्यहरुलाई मुक्तिनाथ मन्दिरमा लगेर सपथ खुवाउने बताईएको छ ।

साधारण सभामा पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकाली,सविधान सभा सदस्यहरु चन्द्रबहादुर गुरुङ,श्रीमाया थकाली,निवर्तमान प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन, निवर्तमान प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकाली, जिल्ला समन्वय प्रमुख÷उपप्रमुख,५ वटै स्थानीयतहका अध्यक्षहरु,मुक्तिनाथ विकास समितिका निवर्तमान सदस्यहरु ,पत्रकार, कर्मचारी र,मुक्तिनाथका पुजारी,आनीझुमा,स्थानीय नागरिकहरु लगायतको उपस्थिती रहेको थियो ।

समिति पुर्नगठनपछि समितिका अध्यक्ष बिष्णुप्रसाद भुषालले मुक्तिनाथको समग्र विकासका लागि नया समितिले जोश जागर र उत्साहका साथ काम गर्ने प्रतिवद्धता जनाए । प्रजिअ भुसालले मुक्तिनाथ विकास समितिलाई चलाउँदा सरुवा होईन्छ भन्ने भाष्यलाई बेवास्ता गर्दै मुक्तिनाथलाई नया जिवन दिएर अगाडी बढाउन चाहेको बताए । मुक्तिनाथमा भक्तजनका लागि बग्रेल्ती समस्याहरु विद्यमान रहेकाले ती समस्याको निकास खोज्न समिति पूर्नगठन गर्नु परेको बताए ।

मुक्तिनाथ मन्दिर व्यवस्थापनको लागि तत्कालिन समय २०२८ सालमा प्रजिअको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो । तर, समिति संस्थागत रुपमा दर्ता भएको थिएन । समिति गठन भएको ३४ वर्षपछि मुक्तिनाथ विकास समिति २०६४ सालमा जिल्ला प्रशासन कार्यालय मुस्ताङमा संस्थागत रुपमा दर्ता भएको थियो । तर, संस्था दर्ता भएको १७ वर्ष पुग्दा समेत एउटा पनि साधारण सभा बस्न सकेको थिएन । समितिको साधारण सभा नहुँदा र समिति गतिशिल हुन नसक्दा मुक्तिनाथको विकासमा बजेट भएर पनि काम गर्न सक्ने अवस्था रहेको थिएन । मुस्ताङका प्रजिअ भुसालले सबैको सामुहिक प्रयासले मुक्तिना विकास समितिलाई नया सिराबाट अगाडी बढाउने ढोका मार्गप्रसस्त भएको बताए ।

मुक्तिनाथ विकास समितिको ५ वटा बैंक खातामा ९ करोड ११ लाख मौज्याद छ । २०६४ सालमा दर्ता भएको संस्थाले हालसम्म कर्मचारीलाई तलब भत्ता खुवाउने र रसिद छपाईका काम बाहेक कुनै कार्य गर्न सकिरहेको थिएन ।

  • १६ मंसिर २०८१, आईतवार २१:११ प्रकाशित