काठमाडौँ ।
स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। आइतबार ४१ पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । यद्यपि कति प्रतिशत मत खस्यो भन्ने यकिन तथ्यांक आयोगले सार्वजनिक गरिसकेको छैन ।
जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै उपनिर्वाचन भएको हो ।
निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै रुकुम पूर्वी भाग जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
बाँकी पदमा ४१ पदका लागि साँझ ५ बजेस मतदान भएको हो भने आजै रातिदेखि मतगणना सुरु गर्ने आयोगले जनाएको छ ।