उपनिर्वाचन अपडेट : दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

स्थानीय तहका रिक्त विभिन्न ४१ पदमा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।

हालसम्म मतदान शान्तिपूर्ण रहेको र कतिपय स्थनमा मतगणना सकिए लगत्तै मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि जारी छ । ४१ पदका लागि भएको उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै उपनिर्वाचन भएको हो ।

निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै रुकुम (पूर्वी भाग)जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

बाँकी पदमा ४१ पदका लागि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

  • १६ मंसिर २०८१, आईतवार १३:१७ प्रकाशित