स्थानीय तह उपनिर्वाचन : मतदान जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

रिक्त स्थानीय तहका विभिन्न ४१ पदका लागि मतदान जारी  छ । बिहान ७ः०० देखि मतदान सुरु भएको हो । मतदान साँझ ५ः०० बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी देशभर छरिएका पालिकामा ४१ पदका लागि मतदान सुरु भएको हो।

मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले आग्रह गरिन् । आयोगले सम्बन्धित निर्वाचन हुने पालिकाका सम्पूर्ण मतदातालाई सक्रिय सभागागिताको लागि आग्रह गरेको छ ।

प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

  • १६ मंसिर २०८१, आईतवार ०८:४५ प्रकाशित