बीआरआई बारे कांग्रेस र एमालेको समान धारणा छ : उपप्रधानमन्त्री सिंह

केन्द्रभाग मिडिया

पोखरा ।
उपप्रधान तथा सहरी विकाशमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रको वर्तमान अवस्थालाई मध्यनजर गरेर चीनसंग ऋणमा नभई अनुदानमा मात्र नयाँढंगले बीआरआई परियोजना अगाडि बढाउने अडानमा कांग्रेस रहेको बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बीआरआईको विषयमा सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र नेपाली कांग्रेसका समान धारणा रहेको समेत उनले दाबी गरे ।

ऋणको रुपमा नभई अनुदानको रुपमा मात्र परियोजना अगाडि बढाउने विषयमा चीनलाई पत्राचार गरिसकिएको भन्दै उनले अब चीनले दिने प्रतिक्रिया अनुरुप बीआरआई अगाडि बढ्ने प्रष्ट्याएका छन् । एमाले र कांग्रेसले चीनलाई साझा दृष्टिकोणको साथ चीनमा नेपालबाट प्रस्ताव पठाइएको उनले जानकारी दिए ।

कांग्रेस जिम्मेवार पार्टी रहेकाले जिम्मेबार ढंगले नै अगाडि बढ्ने उनको टिप्पणी थियो । देशको हित हेरेर अनुदानमात्र नभई अन्य सर्तमा पनि परियोजना अगाडि बढ्न सक्ने उनको संकेत थियो ।

मन्त्री सिंहले यो सरकार ढल्छ भन्दाभन्दै चार महिना चलिसकेको टिप्पणी गरे । सरकार ढल्ने कुनै आधार नरहेको प्रष्ट्याएका उनले आफ्नो पार्टी सभापति शेरबहादुर देउवा बचनमा पक्का रहेको र प्रधानमन्त्री केपी शर्मा ओली पनि सात बुँदे सहमति अनुरुप नै अगाडि बढेकोले सरकार ढल्छ की भनेर सोच्न नपर्ने नउको भनाई छ ।

राजनीतिक स्थायित्व दिन सकिन्छ की भनेर यो सरकार बनेको उनले बताए । आफै नटिक्ने सरकारले जनताको सेवा कसरी गर्छ भन्ने जनतामा परेकाले पनि त्यसलाई चिर्न दुई ठूला दल मिलेर सरकार बनाएको उनले बताए ।

  • १५ मंसिर २०८१, शनिबार १७:१६ प्रकाशित