पोखरा ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पोखरा खानेपानी सुधार आयोजनाको अधिकांस काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । मेलम्ची पछिको सबैभन्दा ठूलो खानेपानी आयोजना मानिएको खानेपानी सुधार आयोजना शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । हस्तान्तरण अघि नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले आयोजनाको उद्घाटन गरे छन् ।
यससंगै परियोजना अन्तर्गत रहेका पोखराबासीको घर–घरमा शुद्ध खानेपानी पुग्दैछ । सुद्ध खानेपानी घारामा पठाउन सुरु गरिएको भएपनि धारासम्म सुद्ध पानी पुग्न भने अझै करिव एक हप्ता लाग्ने पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । केहि संरचना निर्माण गर्न बाँकी रहेको तथा ट्यांकीहरु सफा गर्नुपर्ने लगायतका कारण एक हप्ताको समय लाग्ने उनले बताएका छन् । एक हप्ता पछि भने परियोजना अन्तरर्गत जोडिएका क्षेत्रका पोखरेलीले सिधै धाराको पानी पिउन सक्नेछन् ।
जाईकाले ४ अर्ब ८१ करोड रुपैयाँको अनुदान सहयोगमा यो आयोजना निर्माण गरेको हो । पोखरेलीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले २०७६ सालमा शुरु गरेको आयोजना हालै सम्पन्न गरेको हो । आयोजना अन्तर्गत बालुवा हटाउने ट्याङ्की ४ वटा, पानी थिग्राउने ट्याङ्की ४ वटा, पानी छान्ने फिल्टर ६ वटा, सफा पानी संकलन ट्याङ्यकी ९३० घनमिटरका २ वटा, क्लोरिनेसन प्लान्ट, पानी पोखरीलगायतका संरचना निर्माण सम्पन्न भइसकेको जाइकाले जनाएको छ ।
त्यस्तै, पोखरा–५ प्रस्याङ र पोखरा–११ फूलबारीमा २०/२० लाख लिटर क्षमताका १/१ वटा पानी संकलन ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । पोखरा–१५ कोलपाटनमा सोहि क्षमताको अर्को पानी संकलन गर्ने ट्याङ्की निर्माण गर्ने भनिएपनि बनाउन बाधा पुगेको छ । त्यहाँ ट्याङ्कीको उचाई बढी देखिएको भन्दै नेपाल हवाई उड्डयन प्राधिकरणले निर्माण कार्य जारी रहँदा निर्माणमा रोक लगाएपछि हाललाई सो निर्माण कार्य स्थगित भएको हो । अब त्यसलाई पुर्ननिर्माण गर्ने कि उचाई घटाएर कम क्षमताको बनाउने भन्नेमा टुंगोमा पुगेर निर्माण सम्पन्न गरिने जाईका श्रोतले बताएको छ ।
यसबाहेक पोखरेलीलाई शुद्ध पिउने पानी वितरणका लागि १११ किलोमिटर पाइप जडानसमेत गरिसकेको जनाइएको छ । अब पोखरेलीको धारामा दैनिक ४ करोड लिटर पानी ट्रिटमेन्ट प्लान्टले शुद्ध र सुरक्षित रुपमा प्रशोधन गरी पठाउनेछ ।
आयोजनाको संरचना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले अबदेखि पोखरेली शुद्ध पिउने पानी पाउने दाबी गरे । उनले भने, ‘आजैदेखि पोखरेलीले शुद्ध र सुरक्षित खानेपानी प्राप्त गर्नेछन्, जुन शुद्ध अनि सफा हुनेछ ।’
२०७६ मा सम्पन्न गर्ने गरी सुरु गरिएको खानेपानी सुधार आयोजना ०८१ भदौ १५ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । अब दैनिक ४ लाख १० हजार लिटर पानीलाई शुद्धीकरण गरेर घर घरमा पठाउने पोखरा खानेपानी संस्थान पोखराका प्रमुख आशीष कार्कीले जानकारी दिए । पोखरामा करिब ८ करोड लिटर पानीको माग छ । आवश्यक थप पानीको आपूर्ति विभिन्न ठाउँमा बोरिङ र आसपासका खोलाबाट ल्याएर गर्ने योजना संस्थानको रहेको उनले बताए ।