पोखरा ।
पोखरा महानगरपालिकाको विशेष नगर सभाबारे छलफल गर्न मंगलबार बसेको बैठकमा काँग्रेस र एमालेका वडाध्यक्षबीच चर्काचर्की भएको छ । दुईपक्षका बीचमा झण्डै हात हालाहालको स्थिति निर्माण भएको थियो । बैठकमा सहभागी एक सदस्यका अनुसार सौहार्दरुपमा अगाडि बढेको बैठक एकाएक भाँडिएर झण्डै हात हालाहालको स्थितिमा पुगेको थियो ।
महानगरका प्रवक्ता समेत रहेका वडानम्बर २५ का वडाध्यक्ष मोतिराज तिमिल्सिनाले केही विषय राख्दैगर्दा एमालेले अबरोध गरेपछि कांग्रेसबाट निर्वाचित वडाध्यक्षले त्यसको प्रतिवाद गर्दा फरक परिस्थिति बनेको कांग्रेस दलका नेता एवं पोखरा महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिवशमान प्रधानांगले बताए ।
‘बैठकमा महानगरका प्रमुख धनराज आचार्यसंग समय लिएर प्रवक्ताले आफ्ना केही कूरा राख्दै हुनुहुन्थ्यो । एमालेबाट निर्वाचित पोखरा १५ का वडाध्यक्ष तोरण बानियाँले अस्वभाविक हर्कत देखाउनुभयो । त्यसपछि हाम्रा साथिहरुले त्यसको प्रतिवाद गरेका हुन् र दुई पक्षका बीचमा चर्काचर्की भएको सत्य हो’ उनले भने । दुई पक्षका बीचमा अवस्था असामान्य भएपछि मंगलबारको बैठक स्थगित भएको छ ।
वडा नम्बर २५ का वडाध्यक्ष तिमिल्सिनाले बोल्न पाउने आफ्नो अधिकारमा एमालेले अवरोध गरेको बताए । ‘बैठकमा म पनि बोल्न पाउँछु नि मेयर’साव भनेर सोधेर नै बोल्दै थिएँ, तोरणजी (वडा नम्बर १५ का वडाध्यक्ष) ले नबोल्नुस् भन्नुभयो,’ उनले भने, ‘उहाँले मुख छाड्दै अस्वभाविक तबरले प्रस्तुत भएपछि अरु वडाध्यक्षले त्यसको प्रतिवाद गर्नुभएको होे ।’
नेकपा एमाले दलकी नेता एवं पोखरा महानगरपालिका वडा नम्बर १७ की वडाध्यक्ष राधिका शाहीले बैठकमा भनाभन हुनु सामान्य विषय रहेको प्रतिक्रिया दिइन् । ‘बैठकमा केही असहज परिस्थिति सिर्जना भएकै हो । जसका कारण बैठक निस्कर्षमा पुग्न पाएन । कुरा त्यत्ति नै हो,’ उनले भनिन्, ‘भनाभन हुनुलाई अस्वभाविक रुपमा लिन हुँदैन ।’
यता वडा नम्बर १५ का वडाध्यक्ष तोरण बानियाँले आफूले अघिल्लो दिन बोलेका पात्र दोस्रो दिन नबोल्ने भनिएकाले त्यसै अनुरुपको आग्रह गरेको जिकिर गरेका छन् । आफूले ध्यानाकर्षण गराउँदा महागरका प्रवक्ता तिमिल्सिनाले सुरुमा मुड्की बजारे बजारे पछि परिस्थिति उत्तेजित बनेको उनले आरोप लगाए । यद्यपी वडाध्यक्ष तिमिल्सिनाको व्यक्तिगत विषयमा आफू प्रवेश गरेको विषयमा आफूले पनि महसुस् गरेको उनले सुनाए ।
बैठकमा भएको चर्काचर्कीको विषयलाई उचाल्न जरुरी नरहेको उनको टिप्पणी छ । ‘त्यस्तो अस्वभाविक हर्कत केही होइन । महानगर प्रमुख ज्युले नै अघिल्लो दिन बोलेकाले नबोल्ने भन्नुभएको थियो । दिवशमान दाई (वडा नम्बर २ का वडाध्यक्ष दिवशमान प्रधानांग) लाई प्रमुख ज्युले बोल्न भन्नुभयो । उहाँ बोल्ने कुरा छैन भनेपछि २५ नम्बरको वडाध्यक्ष बोल्न थाल्नुभयो । मैले हिजो बोलेको व्यक्ति नबोल्ने कुराको स्मरण गराएको थिएँ । उहाँ (मोतिलाल तिमिल्सना) ले आफै मुड्की बजार्नु भएपछि परिस्थिति केही उत्तेजित भएको हो ।’ उनले भने, ‘मैले प्रवक्ता ज्युको व्यक्तिगत विषयमा प्रवेश गरेछु । यो मैलेपनि महसुस गरेको छु ।’
सहमति टाढा नरहेकोमा दुबैदल सहमत
कांग्रेस र एमाले अहिलेको सत्ता सहयात्राका सारथी हुन् । केन्द्र र प्रदेशमा कांग्रेस र एमालेको गठबन्धन छ । तर, महानगरमा यस्तो विमति किन ? भन्ने प्रश्न उठेको छ । कांग्रेसबाट निर्वाचित वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली केन्द्र र संघमा सत्ता सहकार्य भएपनि स्थानीय तहमा कोही सत्ता पक्ष र प्रतिपक्षी नहुने तर्क गर्छन् ।
अदालतमा गईसकेको विषय नै विशेष नगरसभाको एजेण्डा बनेकाले परिस्थिति फरक बनेको उनले सुनाए । करारका कर्मचारी व्यवस्थापनको विषय दुई दलबीच खासै विवाद नभएको स्विकार गरेका उनले एमालेले गरिरहेको व्यवहार भने सही नभएको दाबी गरे । ‘एकातिर करारका कर्मचारीको विषय अदालत पुगेको छ । अर्कोतिर त्यही विषय नगरसभाको विशेष अधिवेशनको विषय कसरी बन्न सक्छ भन्ने हो ।’ उनले भने, ‘कसैले भोलि मानहानीको मुद्दा चलाइदिए के हुन्छ ? अदालतमा प्रवेश भइसकेको विषयमा हामी छलफल गर्न तयार छैनौं । अन्य जुनसुकै विषयमा पनि कांग्रेस फेस गर्न तयार छ’
कांग्रेस दलका नेता दिवशमान प्रधानांगले पहिले भएको निर्णय कार्यान्वयनमा जाने सन्दर्भमा समस्या नदेखिनुपर्नेमा एमालेले अड्को थापेको आरोप लगाए । ‘अरु विषयमा त्यस्तो विमति केही होइन । सर्वसम्मत रुपमा भएको करारका कर्मचारी व्यवस्थापन गर्ने विषय कार्यान्वयनमा जुन अड्को उहाँहरुले थापिरहनुभएको छ, त्यसमा हाम्रो आप्पत्ति हो । हामी पनि उहाँहरुपनि महानगर बनाउने भनेर आएका हौं । प्रदेश लोकसभाले कर्मचारी पठाईसकेपछि दोहोरो सुविधा दिन कानुनले पनि दिँदैन र हामी पनि सहमत हुन्नौं । अरु जुनसुकै विषयमा पनि छलफल गर्न सकिन्छ’ उनले भने ।
एमालेबाट निर्वाचित वडा नम्बर १५ का वडाध्यक्ष तोरण बानियाँले पनि समस्या त्यस्तो जटिल नरहेको बताउँछन् । बसेर निकास निकाल्न सकिने भन्दै उनले आफूहरुलाई पेलेर जाने निर्णय खारेजको माग गरेको बताए । करारका कर्मचारीको विषयमा आफूहरुले आपत्ति नजनाएको जिकिर गरेका उनले भन्ने गरिएको २५ औं कार्यपालिकाको बैठकको हुवहु कार्यान्वयन हुनुपर्ने माग गरेको बताए । महानगरलाई चाहिने कर्मचारी कति हो ? पहिला त्यसको निर्काेल गर्नुपर्ने उनको भनाई छ । ‘करारका कर्मचारी व्यवस्थापनमा हामी बाधक हुँदै होइनौं । पहिला हामीलाई चाहिने कर्मचारी कति हो ओएनएम बनाऔं । करारमा आएका कर्मचारी देखि अन्य कर्मचारीका विषय पनि छन् । पहिला त्यसको निस्कर्षमा पुगौं भन्ने हो’ उनले भने ।
एमाले दलकी नेता राधिका शाहीले पनि विवाद यसरी नआउनुपर्नेमा आफू सहमत रहेको बताइन् । तर आफूहरुलाई पेलेर जाने नीतिले समस्या आएको उनले विश्लेषण सुनाइन् । ‘कर्मचारी व्यवस्थापन देखि सबै विषय बसेर कूरा गर्दा मिल्थ्यो । मिल्दै आएको पनि छ । तर, पछिल्लो कार्यपालिका बैठक उहाँहरुले नियम विपरित राख्नुभयो । पेलेर अगाडि बढ्न खोज्नुभयो । समस्या यहाँ हो’ उनले भनिन् ।
वडाध्यक्ष शाहीले कांग्रेस र एमालेका बीचमा त्यस्तो समस्या नरहेको समेत जिकिर गरिन् । महानगरका समस्या समाधान कांग्रेस एमाले वा अरु कुनै दल भएर नभई एजेण्डामा टेकेर हुनुपर्नेमा आफूहरुको जोड रहेको उनको तर्क छ । ‘हामीले उठाएका एजेण्डा महानगवासीका एजेण्डा हुन् । यसलाई कांग्रेस एमाले वा अरु कुनै दलले उठाएको एजेण्डाका रुपमा लिन जरुरी छैन ।’ उनले भनिन् ‘विधिसम्मत चलौं भनेका हौं यसमा कांग्रेसले आपत्ति जनाउनुपर्ने विषय केही छैन ।’