काठमाडौँ ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा बाबुराम भट्टराई प्रधानमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित हुने भएका छन् ।
चीन भ्रमणको तयारीबारे परामर्शका लागि प्रधानमन्त्रीले सोमबार बिहान ११ बजे सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री लगायतको बैठक बोलाएका छन् । तर, आफू गृहजिल्ला गोरखा जान लागेकाले प्रधानमन्त्रीले चीन भ्रमणको सन्दर्भमा बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् ।
यद्यपि उनले एक्समार्फत नै ओलीलाई केही सुझाव दिएका छन् । जसमा भट्टराईले नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै आफ्नो सार्वभौमसत्तालाई भ्रमणका क्रममा पनि ख्याल राख्न सुझाव दिएका छन् ।
यस्तै उनले दुई उदीयमान र प्रतिस्पर्धी शक्तिहरू चीन र भारत बीचको नेपालको विशिष्ट भूरणनीतिक, भूआर्थिक र भूराजनीतिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नेतर्फ सरकारले ख्याल गर्नुपर्ने धारणा पनि राखेका छन् ।
यस्तै हाम्रो कमजोर अर्थतन्त्रलाई कम भन्दा कम समयमा विकसित चरणमा पुर्याउन वैदेशिक व्यापार, पूँजी, प्रविधि, ज्ञान र सद्भाव चाहिने उल्लेख गर्दै भट्टराईले चीनको बीआरआईबाट फाइदा उठाउनै पर्नेमा जोड दिएका छन् ।
भट्टराईले पार्टीको तर्फबाट प्रधानमन्त्री र उनको टोलीलाई आगामी चीन भ्रमणको शुभकामना समेत दिएका छन् ।