ढुंगेसाँघुमा हुने कोटिहोमको तयारी अन्तिम चरणमा, प्रमुख बाचक ढकाललाई स्वागत

केन्द्रभाग मिडिया

 

पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर १५ ढुंगेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटीहोम–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।

अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा यही १७ मंसिर देखी २७ मंसिरसम्म कोटिहोम गर्न लागिएको हो । पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटमा आयोजना गरिएको कोटिहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरि तयारी अवस्थामा राखिएको छ । भने मन्दिरमा रंगरोगर र ध्वजापतकाले सजाइएको धामका अध्यक्ष मदन गिरीले जानकारी दिए ।

कोटिहोमका प्रमुख बाचक, धामका संरक्षक, यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल शनिबार पोखरा आइसकेका छन् । अमेरिकामा बस्दै आएका प्रमुख बाचक ढकाल शनिबार पोखरा आइपुगेका हुन् । ढकालको स्वागतमा अन्नपूर्णेश्वर शिवालय शिवशतिक्त धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भब्य स्वागत गरिएको छ । विमानस्थलबाट पोखरा १५ कोलपाटनमा रहेको राधेराधे मन्दिरमा विशेष पूजाअर्चनामा सहभागी भए लगत्तै बाचक ढकाललाई बाजागाजाहित कोटिहोम स्थल धाममा पुर्याइएको समितिका सचिव कमला बरालले जानकारी दिइन् ।

यज्ञ स्थलको निरीक्षण पछि ढकालले समितिका पदाधिकारी स्थानीयलाई विशेष निर्देशन दिदैँ हरिहर क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्न संकल्पित भएर लाग्न भने । बहुसाँस्कृतिक ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हरिहर क्षेत्र, पुण्यभूमिलाई साँस्कृतिक पहिचान, धार्मिक एवं पुरातात्विक सम्पदाको जगेर्ना र संरक्षण गदैँ पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिने ढकालले बताए ।

बाचक ढकालको स्वागतमा कोटिहोम स्थालमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै पोखरा महानगर वडानम्बर १५ का वडासदस्य बलराम पौडेलले कोटिहोमलाई सफल बनाउन वडानले सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रकृतिले दिएको सम्पदालाई संरक्षण गरेर यस क्षेत्रको विकासमा समेत प्रयोग गर्न सकिने पौडेलले बताए ।

धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए ।

कोटिहोममा कथा बाचनका लागि १५ भन्दा बढि धर्म गुरु आउने आयोजकले जनाएको छ ।

  • ८ मंसिर २०८१, शनिबार १८:५४ प्रकाशित