फोहोर गरेको भन्दै एमालेलाई काठमाडौं महानगरले लगायो एक लाख जरिवाना

केन्द्रभाग मिडिया

काठमाडौं ।
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेलाई काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ ।

फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।

नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिका जरिवाना रकम तिर्नुपर्नेछ ।

एमाले पार्टी कार्यालयका नाममा प्रेषित पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००.०० अक्षरुपी एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’

  • ७ मंसिर २०८१, शुक्रबार २१:३२ प्रकाशित