आज काठमाडौंंमा शक्ति प्रदर्शन गर्दै एमाले

एउटै समयमा फरक-फरक ठाउँमा एमाले, दुर्गा प्रसाईँका समर्थक र सहकारी पीडितको प्रदर्शन

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले आज संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा जागरण सभाको नाममा एमालेले शक्ति प्रदर्शन गर्न लागेको हो ।

एमाले विधिको शासनमा र कानुनी राज्यको मान्यतामा विश्वास गर्छ भन्ने सन्देश दिन जागरण सभा गर्न लागेको एमालेका नेताहरूले दाबी गरेका छन् । जनप्रदर्शनमा एमालेका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबैजसो जनसङ्गठनलाई प्रदर्शनमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।

सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी छ । जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसङ्गठन र सम्पर्क मञ्च परिचालन गरेको छ । सभालाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूले सरकारको काम कारबाही र कार्यशैलीको आलोचना गर्दै संघर्षका कार्यक्रम चलाइरहेका बेला सत्तारूढ दलमात्रै नभएर सरकारको नेतृत्वकर्ता दल एमाले नै सडकमा शक्ति प्रदर्शनमा उत्रन लागेको हो ।

जागरण सभा संयोजन समितिका सहसंयोजक एवं नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले जागरण सभा उपत्यकाका तीन जिल्लाको एमाले तागत देखिने बताए ।

आज काठमाडौंमा सत्तारुढ दल एमालेसहित अन्य विभिन्न पक्षले पनि प्रदर्शन गर्दैछन् । सरकारको नेतृत्व गरेको एमालेले दरबारमार्गमा प्रदर्शन गर्दा सहकारीमा बचत गरेको तर रकम फिर्ता नपाएका पीडितहरुले दुई दिनदेखि जारी राखेको आन्दोलनलाई आज पनि निरन्तरता दिने छन् । उनीहरुले माइतीघरमा केन्द्रित भई प्रदर्शन जारी राखेका छन् । सहकारी ठगीमा संलग्नहरुमाथि छानबिन र कारवाही हुनुपर्ने अनि पीडितहरुको बचत फिर्ता हुनुपर्ने उनीहरुको मुख्य माग छ ।

यता, दुर्गा प्रसाई समर्थकहरुले पनि आज काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्ने तयारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आज तीन पक्षले फरक–फरक ठाउँमा एकै समयमा प्रदर्शनको तयारी गरेका बताए । उनले त्यहिढंगले आम नागरिकको शान्ति सुरक्षा कायम हुने गरी सुरक्षा प्रबन्ध मिलाएको पनि जानकारी दिएका छन् ।

 

  • ७ मंसिर २०८१, शुक्रबार ०७:१० प्रकाशित