बागलुङको ट्रायल सेन्टरमा यातायात मन्त्रीको छड्के

केन्द्रभाग मिडिया

बागलुङ ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातयात व्यवस्था कार्यालय बागलुङको प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर)को छड्के निरीक्षण गरेका छन् । ट्रायल सेन्टरको भौतिक अवस्था र प्रयोगात्मक परीक्षाको विषयमा जानकारी लिन मन्त्री केसी बुधबार बागलुङ नगरपालिका–१ खनियाबासमा रहेको ट्रायल सेन्टरको छड्के निरीक्षणमा पुगेका हुन् ।

दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन परीक्षा प्रणालीलाई सरल र गुनासो नआउने गरी परीक्षा चलाउन यातायात कार्यालयका निमित्त प्रमुख अशोक घिमिरे र ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेलाई मन्त्री केसीले निर्देशन दिए । मन्त्री केसीले दुई पाङ्ग्रे प्रयोगात्मक परीक्षाको करिब १५ मिनेट अवलोकन गरे ।

उनले प्रयोगात्मक परिक्षा स्थलमा खटिएका यातायात व्यवस्था कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख घिमिरे, ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख न्यूरे र अन्य कर्मचारीलाई पारदर्शी ढंगले परीक्षा सञ्चालन गर्न निर्देशन दिए । उनले सीसीटिभी फुटेज एक महिनासम्म रेकर्ड राख्ने, भीडभाड नगर्ने, परीक्षा स्थललाई सफा राख्ने र परिक्षार्थीले मनोबल उच्च रहनेगरी परीक्षा दिने वातावरण मिलाउन कर्मचारी र ट्राफिक प्रहरीलाई आग्रह गरे ।

नेकपा (एमाले)का सांसद केसी गत भदौ १७ मा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका थिए । मन्त्री बनेपछि केसीले अत्यावश्यकबाहेक भेला, समारोह, गोष्ठी लगायतमा समय खेर नफाल्ने निर्णय गरेका थिए । मन्त्री बनेको दुई महिना मन्त्रालयको कामकारबाहीको अवस्था बुझेपछि मन्त्री केसी फिल्ड भिजिटमा निस्कन थालेका छन् । तिहार बिदा सकिएपछि मन्त्री केसी जिल्लाका ठूलो लगानीका पूर्वाधार निर्माण र यातयात क्षेत्रमा भएको समस्याको पहिचानका लागि निस्कन थालेका हुन् ।

  • ६ मंसिर २०८१, बिहीबार ०८:३७ प्रकाशित