द्वन्द्व पीडित भन्छन्, ‘न्यायको प्रतिक्षा गर्दागर्दै थाक्यौं, कहिले पाउँछौं न्याय ?

केन्द्रभाग मिडिया

पोखरा ।
बृहत शान्ति सम्झौता भएको नै १८ वर्ष पूरा भएको छ । यसको स्मरणमा हरेक वर्ष ५ मंसिरमा विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै कार्यक्रम हुने गर्छन् । यस वर्ष पनि देशैभर विभिन्न कार्यक्रम भए र पीडितहरुले न्याय नपाएको गुनासो र आक्रोस दुबै पोखे । पोखरामा पनि ‘विस्तृत शान्ति सम्झौताको १८ वर्ष ः ५ मसिर न्याय प्राप्ति कहिले’ सिर्षक राखेर बुधबार शान्ति प्रक्रियामा प्रत्यक्ष संलग्न संस्थाहरु एड्भोकेसी फोरम, अपाङ्गता भएका द्वन्द्व पीडितहरुको राष्ट्रिय सञ्जाल, न्यायका लागि द्वन्द्व पीडित समाज, बेपत्ता योद्धा परिवार समाज, ईन्सेक गण्डकी, जागृति बाल तथा युवा सरोकार केन्द्र, गैरसरकारी संस्था महासंघ, नेपाल रेडक्रस सोसाईटी, मानव अधिकार एलाईन्स, कोपिला नेपाल, द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल, यातना पीडित सरोकार समाजलगायतका संघसंस्थाहरुले संयुक्त रुपमा कार्यक्रम गरेका छन् । उनीहरुले साँझ शान्ति सम्झौताको स्मरण गर्दै दीगो शान्ति र न्याय प्राप्तीका लागि दिप प्रज्वलन समेत गरेका छन् ।

पीडित, अधिकारकमी र राजनीतिज्ञ सहभागी कार्यक्रममा पीडितले आक्रोस र पीडा पोखेका छन् । कार्यक्रममा सहभागी द्वन्द्व पीडित मध्यका एक कास्की भुजुङ खोलाका केदार आचार्यले विगतमा आफूहरुले पाएको अस्वासन सम्झँदै भने, ‘६० दिनमा न्याय पाउनु हुन्छ भनियो, त्यो ६० दिन कहिले पुग्ने हो ? हामी न्यायको प्रतिक्षामा छौं । यो प्रतिक्षाको घडी कहिले समाप्त हुन्छ ?’ उनी यतिमा मात्र रोकिएनन् । उनले आफ्नो भाई आनन्द आचार्यलाई जिल्ला प्रहरी कार्यालय हुँदै फूलबारी व्यारेकमा पुर्याएर बेपत्ता पारिएको स्मरण गरे । २०५८ मा नै उजुरी दिएको बताएका उनले छोरो कुर्दाकुर्दै बाबुआमा को मृत्यु भइसकेको र छोराछोरी बालिग भएर पनि न्याय प्राप्त गर्न नसकेको सुनाए ।

द्वन्द्व कालमा श्रीमान गुमाएकी कल्पना सुवेदीले छोराको न्याय माग्दामाग्दै आफ्ना सासुससुरा बितेको र आफैले श्रीमान बिर्सिसक्ने बेला भएर पनि न्याय पाउन नसकेको गुनासो गरिन् । कम्तिमा आफूहरु को हो भनेर परिचय खुल्ने परिचय पत्रसम्म दिए गर्वका साथ भन्न सहिद परिवार हौं भन्न सक्ने भएपनि परिचय पत्रसमेत नदिइएको उनको भनाई छ ।

भाई गुमाएकी म्याग्दीकी ईश्वरी विकले ढिलो न्याय दिनु भनेको न्याय नदिनूजस्तै भएको बताईन् । चाँडो न्याय दिनुपर्ने भन्दै उनले भनिन्,‘हामीले न्याय कहिले पाउने रु सँधै न्यायका लागि लडिरहने अवस्थाको अन्त्य होस् ।’

तनहुँकी द्वन्द्व पीडित अरुण घिमिरेले द्वन्द्व पीडितलाई राज्यपक्ष र विद्रोही पक्ष भनेर विभाजित गर्ने र भिडाउने काम बन्द गर्नुपर्ने बताए । जुन पक्षको भएपनि हामी द्वन्द्व पीडित नै हौं,उनले भने,‘जो दोषी हो उसलाई कारवाही होस्, पीडितलाई न्याय र राहत दिईयोस् ।’

अपाङ्गता भएका द्वन्द्व पीडितहरुको राष्ट्रिय सञ्जालका गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र खत्रीले १८ वर्षसम्म पीडितले न्याय नपाउनुजस्तो दुःखद कुरा अरु नहुने बताए । उनले शान्ति सम्झौताको वर्षगाँठ हर्षोल्लासपूर्वक मनाउनुपर्ने भएपनि आफूहरुको आँखाको आँशु नसुकेकाले विरह पोख्दै बस्नुपर्ने अवस्था रहेको बताए ।

यातना पीडित समाज गण्डकीका उपाध्यक्ष भरतमणी भट्टराईले कसैले द्वन्द्व नाममा रजाईं गर्ने तर पीडितले भने सँधै अपमानित भएर बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । क्षमादान भनेर पीडकले उन्मुक्ति पाउन नहुनेमा उनले जोड दिए ।

द्वन्द्व पीडित दुधराज शर्माले पछिल्लो समय न्याय पाइने आसा केही बढेको भएपनि धेरै नै संका गर्ने ठाउँ रहेको बताए । विभिन्नढंगले शब्दहरुमा खेलेर पीडितलाई न्याय नदिने अवस्था आउने तर्फ सचेत हुनुपर्ने उनको भनाई छ ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल गण्डकी अध्यक्ष बिना सिलवालले शान्ति प्रक्रियाको १८ वर्ष बित्दासमेत न्याय नपाउँदा पीडितमा आक्रोस पैदा भएको बताईन् । द्वन्द्व पीडितको परिवारको अवस्था नाजुक रहेको भन्दै उनले कम्तिमा पीडितलाई स्वास्थ्य, शिक्षा, रोजगारी र पहिचान दिइनुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकीकी प्रमुख नितु गर्तौलाले संक्रमण कालिन न्याय अन्तर्राष्ट्रिय अभ्यास भुल्न नहुने बताइन् । पीडितको सन्तुष्टि नै सबैभन्दा महत्वपूर्ण कूरा रहेको उल्लेख गरिन् ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ बरालले ढिलो न्याय दिनु नदिनु सरह भएकाले छिटोभन्दा छिटो पीडितमैत्री भएर शान्ति प्रक्रिया टुंग्याउनुपर्नेमा जोड दिए । उनले प्रतिशोध साँध्ने र बढाउनेगरी नभई हटाउनेगरी काम गर्नुपर्ने धारणा राखे ।

नेकपा माओवादी केन्द्र कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले माओवादी सँधै पीडितको न्यायका लागि लडिरहेको बताए । उनले हलो अड्काएर गोरु चुट्ने काम कसैलेपनि गर्न नहुनेमा जोड दिए ।

नेकपा एमाले गण्डकी प्रदेश समितिकी सचिवालय सदस्य सुशीला पौडेल पराजुलीले सबै पार्टी र तिनका नेताहरुको एउटै दृष्टिकोण हुनुपर्नेमा जोड दिइन् । नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्यले पीडितलाई राज्य र विद्रोही पक्ष नभनी समान ढंगले न्याय दिन आफ्नो पार्टी लागिरहेको बताए ।

ईन्सेक गण्डकीका प्रमुख शिवप्रसाद खकुरेलले पीडितलाई न्याय दिलाउन आफूहरुको खबरदारी जारी रहने र यस प्रकारका दबाब मुलक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

यसैबीच साँझ सहिद चोकमा दीगो शान्ति र न्याय प्राप्तीका लागि दिप प्रज्वलन समेत गरिएको छ । दिप प्रज्वलनमा अधिकारकमीहरु, राजनीतिक दलका नेता र द्वन्द्व पीडितहरुको समेत सहभागिता थियो ।

 

 

  • ५ मंसिर २०८१, बुधबार २०:१९ प्रकाशित