इजरायल–हमास युद्ध सुरु भएयता पहिलो पटक गाजा पुगे प्रधानमन्त्री नेतन्याहु

केन्द्रभाग मिडिया

गाजा ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु गाजा पुगेका छन् । इजरायल–हमासबीच युद्ध सुरु भएयता उनी पहिलो पटक मङ्गलबार अचानक गाजा पुगेका हुन् । उनले त्यहाँ इजरायली सैन्य अड्डाहरूको भ्रमण गरेका थिए ।

उनको साथमा रक्षामन्त्री इजरायल काट्ज पनि थिए । इजरायल सरकारले यो भ्रमणको भिडियो सार्वजनिक गरेको छ । नेतन्याहुले हमाससँग युद्धविरामका लागि कुनै पनि प्रयासलाई कडाइका साथ अस्वीकार गरेका छन् । युद्ध सकिएपछि हमासले प्यालेस्टाइनमा फेरि शासन नगर्ने पनि उनले बताएका छन् । बन्धकहरूलाई सुम्पने जो कोहीलाई ५० लाख डलर दिने प्रस्ताव पनि उनले गरेका छन् ।

‘हमास फर्केर आउने छैन । गाजामा बेपत्ता भएका १०१ इजरायली बन्धकहरूको खोजी इजरायलले जारी राख्नेछ । हाम्रा बन्धकहरूलाई हानी पुर्याउने जो कोही आफ्नो मृत्युको लागि स्वयम् जिम्मेवार हुनेछ । हामी तिनीहरूलाई खोजेरै छाड्नेछौं ।’

युद्धमा सेनाले लगाउने ज्याकेट र हेलमेट लगाएर नेतान्याहुले भने । नेतन्याहु गाजा भ्रमणमा हुँदा, ब्राजिलमा चलिरहेको जीट्वेन्टी शिखर सम्मेलनमा गाजालाई थप सहायता प्रदान गर्न र युद्ध रोक्न अपील गरिएको थियो । यहि महिनाको सुरुमा नेतन्याहुले योभ गालान्टलाई रक्षामन्त्रीबाट बर्खास्त गरेका थिए ।

आफूहरूबिच विश्वासको कमी भएको र युद्धको समयमा यो राम्रो नभएको नेतन्याहुको भनाइ थियो । यसैबिच नेतन्याहुले गालान्टमाथि देशका शत्रुहरूलाई फाइदा पुर्याएको आरोप पनि लगाए । त्यसपछि उनले विदेशमन्त्री इजरायल काट्जलाई रक्षामन्त्रीको जिम्मेवारी दिइएको थियो ।

इजरायल र हमासबीच एक वर्षभन्दा लामो समयदेखि युद्ध चलिरहेको छ ।

  • ५ मंसिर २०८१, बुधबार १७:१२ प्रकाशित