पोखरा ।
आन्तरिक राजस्व कार्यालय पोखराले प्रथम चौमासिक अवधि (साउन देखि कात्तिकसम्म) मा गत वर्षभन्दा ७ प्रतिशत बढी राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माका अनुसार गत आर्थिक वर्षको यो अबधिमा एक अर्ब ३८ करोड, ७२ लाख १५ हजार रुपैयाँ राजस्व उठेकोमा चालु आर्थिक वर्षको चार महिनामा एक अर्ब ४८ करोड ६३ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको हो । यो गत वर्षको यो अबधिको उठेको राजस्व भन्दा करिव १० करोड अर्थात ९ करोड ९१ लख २८ हजार रुपैयाँ बढी हो । यस वर्ष लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व संकलन भएको छ । प्रथम चौमासिकका लागि एक अर्ब ९५ करोड ८२ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो ।
आन्तरिक राजस्व कार्यालय पोखराले उपलब्ध गराएको विवरण अनुसार चालु आर्थिक वर्षको चार महिनामा आयकर बाट ८२ करोड ५ लाख रुपैयाँ, घरबहाल करबाट एक करोड ३६ लाख ४० हजार रुपैयाँ, व्याज करबाट ११ करोड ९० लाख ३५ हजार रुपैयाँ, ३१ लाख ७५ हजार रुपैयाँ, मूल्य अभिबृद्धि कर ४५ करोड ६८ लाख, ९९ हजार रुपैयाँ र अन्तःशुल्कबाट ७ करोड, ४६ लाख १८ हजार रुपैयाँ संकलन भएको छ ।
गत आर्थिक वर्षको यही अबधिमा आयकरबाट ७३ करोड, ५१ लाख २९ हजार, घरबहाल कर तर्फ एक करोड १६ लाख ८८ हजार, व्याज कर ११ करोड २९ लाख ९५ हजार रुपैयाँ, ९८ लाख १२ हजार रुपैयाँ, मूल्य अभिबृद्धि कर ४५ करोड ४८ हजार रुपैयाँ , अन्तःशुल्क ७ करोड ६७ लाख ४ हजार रुपैयाँ र अन्य तर्फ ६ लाख ५१ हजार रुपैयाँ संकलन भएको थियो ।
प्रमुख कर अधिकृत शर्माले लक्ष्य नै अस्वभाविक रुपमा धेरै राखिएकाले लक्ष्य अनुरुप राजश्व संकलन गर्न नसकिएको बताए । पहोर भन्दा धेरै राजश्व संकलन भएको तर यसपाली लक्ष्य नै धेरै राखिएकाले लक्ष्य भेटाउन नसकिएको उनको भनाई छ । ‘गत वर्षको भन्दा धेरै राजस्व उठाएका छौं । यसपाली लक्ष्य नै धेरै राखियो । बजार पनि जति चलायन हुनुपर्ने थियो त्योढंगले चालायमान हुन सकेको छैन’ उनले भने । आन्तरिक राजस्व कार्यालय पोखरालाई चालु आर्थिक वर्षमा ६ अर्ब ८२ करोड ४५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ । यो लक्ष्य भेट्न कठिन रहेको तर आउने चौमासिकमा थप प्रगती हुने उनको भनाई छ ।
पोखरामा भइरहेका करदाता मध्ये धेरै राजस्व तिर्ने करदाता ठूला र मध्यम स्तरको करदातामा स्तरोन्नति हुँदा पोखराको राजस्व संकलनमा प्रभाव परेको प्रमुख कर अधिकृत शर्मा बताउँछन् । सहकारीमा देखिएको समस्या र घरजग्गाको कारोबारमा आएको सिथिलताले राजस्व संकलन सुस्त भएको उनको भनाई छ । पर्यटन क्षेत्र सकारात्मक रहेकाले पोखरामा अन्यत्रको तुलनामा राम्रो रहेको उनले विश्लेषण सुनाए ।
चाडबाड सकिएको र आर्थिक ऐन २०८१ ले केही सुविधा दिएकोले त्यसको उपयोग करदाताले गर्ने उनले विश्वास व्यक्त गरेका छन् । सुविधाको उपयोग गर्न उनले सेवाग्राहीलाई आग्रह गरे । फागुन मसान्तसम्म विशेष छुट आफर रहेको जानकारी दिँदै उनले त्यसको उपयोग गर्न आग्रह गरका हुन् ।