तनहुँ ।
मुग्लिङ–पोखरा सडक आयोजना अन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड आज (सोमबार) राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ ।
पहिलो चरणमा आज राति ११ बजेदेखि राती १ बजेसम्म र दोस्रो चरणमा राती १ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार सूचना जारी गर्दै लामो समय सडक बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न चालक तथा सवारी धनिलाई अनुरोध गरेको छ । मङ्सिर ३ गते सोमबारदेखि मङ्सिर २३ गते आइतबारसम्म सडक बन्द गरी निर्माण गरिने पूर्वीसडक खण्ड आयोजनाले जनाएको छ ।
राती १ बजेदेखि १।३० बजेसम्म भने सडक आवागमनका लागि खुल्ला गरिने पूर्वीसडक खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनका अनुसार यस सडक खण्डमा ४१ द्यशमलव ५ किमि दूरी रहेको छ । हालसम्म दुई लेनको ६३ किमि सडक कालोपत्र गरिएको छ भने ६८ प्रतिशत प्रगति भएको छ ।
उक्त अवधिभर अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधनका लागि सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । ‘आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइनेछ,’ उनले भने, ‘यस राजमार्ग भएर गुड्ने सवारीसाधानले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।’
उक्त अवधिमा रोकिने सवारी साधनले रोक्दा वा चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न र सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेकसमेत नगर्न प्रहरीले अनुरोध गरेको छ ।