काठमाडौं।
नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
२०८१ मंसिर ४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभा आयोजना गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ ।
नेपाली कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले शोकप्रस्ताव पारित गर्दै सो निर्णय गरेको हो ।पूर्व सभामुख ढुंगानाको ८३ वर्षको उमेरमा मंसिर २ गते फ्रन्टलाइन अस्पताल काठमाडौंमा निधन भएको थियो । उनको निधनबाट मर्माहत र स्तब्ध भएको नेपाली कांग्रेसले जनाएको छ ।
ढुंगानाको निधनको शोकमा कांग्रेसले एक सय दिने अभियान आज एक दिन रोक्ने र भोलिबाट पुनः सुरु गर्ने जनाएको छ ।ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं। २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख बनेका थिए ।