पोखरा ।
पोखरामा आजदेखि कर सप्ताह सुरु भएको छ । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ यो वर्ष कर सप्ताह मनाइँदैछ । आन्तरिक राजस्व कार्यालय पोखराले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी कर सप्ताह मनाउन लागेको हो ।
आज पहिलो दिन पोखरा सभागृहदेखि आन्तरिक राजश्व कार्यालयसम्म प्रभातफेरी कार्यक्रम गरेर कर सप्ताहको सुरुवात गरियो । सभागृहदेखि सुरु कर सप्ताह आन्तरिक राजशव कार्यालय पोखराको प्रांगणमा पुगेर कार्यक्रमसहित सुरुवात गरिएको हो । प्रभातफेरीमा सहभागीले कर सम्बन्धी विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए ।
प्रभातफेरी समापन एवं कर सप्ताह कार्यक्रमको सुरुवात गर्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कर प्रशासन र करदाताबिचको सम्बन्धलाई थप सुदृढ बनाउन आफूहरू तत्पर रहेको बताए । उनले आज शनिबार भएकाले भोली कार्यालय सुरु हुनासाथ पहिलो करदातालाई फूलमाला लगाएर सम्मान गरिने बताए ।
कार्यालयले करदाता शिक्षा, कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानुनको बारेमा करदातालाई सुसूचित गर्ने कार्यक्रम राखेको छ । विभिन्न सञ्चार माध्यम, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य सघं र आन्तरिक राजश्व कार्यालयमा यी कार्यक्रम हुनेछन् ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ७ मंसिरमा उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने प्रमुख कर अधिकृत शर्माले जानकारी दिए ।
प्रभातफेरी समापन एवं कर सप्ताह सुभारम्भ कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी व्यवसायीहरु कर तिर्न तयार रहेको बताए । उनले कर सप्ताह पछि राज्यले गर्ने व्यवहारमा र व्यवसायीक वातावरणमा फरक पन आउने अपेक्षा प्रकट गरे ।
कार्यक्रममा नेपाल अडिटर्स एसोसिएसन कास्कीका अध्यक्ष कमलबहादुर रेग्मी लगायतले कर सप्ताहको सफलताको कामना गरेका थिए । यस अगाडि बाजागाजासहित सम्पन्न प्रभातफेरीमा व्यसायीका संस्थाहरु पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स कास्की लगातका व्यवसायी संघ संस्थाहरु व्यानरसहित सभागी थिए ।