नेपालका लागि फ्रान्सकी राजदूत र नगर प्रमुख आचार्य बिच भेतवार्ता

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका छन । पहिलो पटक पोखरा आउनु भएकी राजदूत कोर्टेभल र नगर प्रमुख आचार्य बिच दुईपक्षिय हितका विषयमा छलफल भएको छ ।

विशेष गरी अन्नपूर्ण हिमाल आरोहणको ७५ औँ वर्षको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रित भएको नगर प्रमुख आचार्यले बताए । फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरी पर्वतारोहणको इतिहास कोरेका थिए । त्यसको ३ वर्ष पछि मात्रै सगरमाथा आरोहण गरिएको इतिहास छ ।

हर्जोगले अन्नपूर्ण–१ (प्रथम) हिमालको सफल आरोहण गरेको आज ७४ वर्ष पुरा भएको छ । सन् २०२५ मा हिमाल आरोहणको ७५ औँ वर्षगाँठमा विशेष कार्यक्रम आयोजना गर्ने फ्रान्सेली सरकारको चाहाना रहेको भेटवार्तामा राजदूत कोर्टेभलले बताए । हर्जोगले उनका सहयात्री लुई लिचेनेलसँग सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम पहिलो पटक आरोहण गरेका थिए ।

भेटवार्तामा अन्नपूर्ण हिमालको सफाइ अभियानमा सहकार्य गर्ने, पोखराको जियोलोजिकल सर्भेका लागि प्राविधिक सहयोग सहित आवश्यक सहकार्य गर्ने, फ्रान्सको पर्यटकीय सहर र पोखराका बिचमा मितेरी सम्बन्ध स्थापना गर्ने, फोहोर प्रशोधन तथा व्यवस्थापन परियोजनामा सहकार्य गर्ने र दुई पक्षीय पर्यटन प्रवर्द्धन तथा विकासमा सहकार्य गर्ने लगायतका विषयमा पनि छलफल भएको छ ।

भेटवार्तामा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको समेत सहभागिता रहेको थियो । पोखरा महानगरपालिका फान्स सरकारसँग सहकार्यमा अन्नपूर्ण सफाइ अभियानदेखी समग्र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न तत्पर रहेको नगर प्रमुख आचार्यले बताए ।

  • २९ कार्तिक २०८१, बिहीबार २१:०६ प्रकाशित