काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । आज लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४’ उद्घाटन गर्दै मन्त्री गुरुङले आइटी उद्योग विकासमा सरकारसँगै निजी क्षेत्रकोसमेत उत्तिकै सहयोगको अपेक्षा गरे ।
उनले पहिलो वर्ष नीति परिमार्जन गर्दै दोस्रो वर्ष बजेट व्यवस्थापन गरी आइटी क्षेत्रमा आवश्यक काम थालनी गर्ने बताए । यसका लागि सरकारले ‘एआई’ नीति ल्याउने, आइटी पूर्वाधार तयार पार्ने, बजेट विनियोजन गर्ने लगायतका योजना रहेको उनले जानकारी गराए ।
आफ्नै कार्यकालमा काठमाडौँमा आइटी पार्क र ज्ञान पार्क ९नलेज पार्क० निर्माण गर्नेसमेत प्रतिबद्धता जनाए । मुलुकलाई डिजिटल बनाउने उद्देश्यको सुरुवात स्थानीय निकायका सरकारी काम प्रविधिमैत्री बनाइ सुरु गरिने उनले बताए । “स्थानीय तहबाट डिजिटल नेपाल सुरु गर्छौँ, विस्तारै व्यापक बनाउदै लैजान्छौँ”, उनले भने, “डिजिटल नेपाल बनाउने भनाइ र गराइ एकातिर भइरहेको छ । यसलाई सुधारेर नीतिगत व्यवस्था, पूर्वाधार निर्माण र योजनावद्ध शैलीमा सूचनाप्रविधिको विकास थालनी गर्दै छौँ ।”
कार्यक्रममा आइटी काउन्सिलका अध्यक्ष अजितकुमार साहले सरकारले हाल सूचनाप्रविधिको क्षेत्रमा गर्दै आएको कामलाई निरन्तरता दिन सकेमा सफलता हासिल गर्न सकिने बताए ।