पोखरामा मुस्ताङको स्याउको माग धान्न धौधौ

केन्द्रभाग मिडिया

पोखरा।

मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो । पोखरामा मुस्ताङको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै खपत हुने गरेको छ ।

पछिल्लो समयमा मुस्ताङमा बढ्दो पर्यटकको आगमनले कोसेलीका रुपमा स्याउ बिक्रीसमेत हुने भएकाले यसको बजारका लागि भने कुनै समस्या नरहेको विगत लामो समययता स्याउको व्यावसायिक खेती गरिरहेका ‘टुकुचे स्याउ नर्सरी’का सञ्चालक राजन शेर्पाले बताए ।

पोखराका साथै मुस्ताङको स्याउ काठमाडौँसहित देशका अन्य बजारमा पनि खपत हुने गरेको छ । ‘उत्पादन गर्न सके स्याउ बिक्री गर्न बजारको समस्या छैन’, शेर्पाले भने, ‘यहाँ उत्पादन भएको स्याउ थोक मूल्यमा ठेकेदारले नै खरिद गरेर लैजाने गरेका छन् ।’

विगतमा परम्परागतरुपमा स्याउखेती गरिँदै आएकामा पछिल्लो समय नवीनतम प्रविधिमा आधारित हाइडेन्सिटी स्याउ बगैँचा कार्यक्रमका कारण उत्पादन बढेको किसान बताउँछन् ।

‘नर्सरीमा नेदरल्याण्ड्सबाट ल्याएको हाइडेन्सिटी प्रजातिको स्याउका बिरुवा उत्पादन गरेका छौं’, शेर्पाले भने, ‘उत्पादित बिरुवा उपल्लो डोल्पा, रुकुम, रोल्पालगायतका स्थानसम्म पुगेको छ ।’ बर्सेनि १८ हजारसम्म स्याउका बिरुवा बिक्रीवितरण गरिरहेको उनले जानकारी दिए ।

मुस्ताङको मुख्य फलफूलखेतीका रूपमा रहेको स्याउको व्यावसायिक खेती २०२२ पछि मात्र सुरु भएको पाइन्छ । विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालय, फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको काश्मीरबाट स्याउका बिरुवा ल्याएर मुस्ताङमा वितरण गरेको थियो ।

स्थानीयवासीका अनुसार तत्कालीन समयमा प्रत्येक घरमा स्याउका तीनरतीन बिरुवा वितरण गरिएको थियो । त्यसयता स्याउको व्यावसायिक खेतीले बर्सेनि गति लिएको छ । स्थानीयवासीले स्याउको व्यापारसँगै यसबाट रक्सीसमेत बनाउन थालेका छन् ।

मुस्ताङमा पछिल्ला वर्षमा स्याउ खेतीतर्फ किसानको आकर्षण बढिरहेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले जानकारी दिए ।

उनका अनुसार मुस्ताङमा कूल आठ सय ९० हेक्टर क्षेत्रफलमा स्याउको खेती भइरहेकामा ६ सय १६ हेक्टरमा स्याउको उत्पादन भइरहेको छ । जिल्लामा गत वर्ष रु ९१ करोड ८६ लाखको स्याउ बिक्री भएकामा त्यसको ९० प्रतिशत जिल्ला बाहिर बिक्री भएको थियो । रासस

  • २९ कार्तिक २०८१, बिहीबार १५:३६ प्रकाशित