काठमाडौँ ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले मुलुकमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने भन्दै मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने भएको छ ।
जागरण सभाको नाममा एमालेले समाजमा बढ्दो बेथितिविरुद्ध आफ्ना नेता–कार्यकर्ता परिचालन गर्दै उपत्यकास्तरीय प्रदर्शन गर्ने तयारी गरेको हो ।
सभा र प्रदर्शनमा करिब १ लाख नेता–कार्यकर्ता सडकमा आउने एमाले नेताहरूले बताएका छन् । काठमाडौँको भृकुटीमण्डमा हुने जागरण सभामा एमालेले उपत्यकाका तीन वटै जिल्लाको सम्पूर्ण पार्टी शक्ति परिचालन गर्ने तयारी गरेको छ ।
सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी छ । जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसंगठन र सम्पर्क मञ्च परिचालन गरेको नेकपा एमाले बागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराईले जानकारी दिए । भट्टराईकै नेतृत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन भइसकेको छ ।
प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूले सरकारको काम कारबाही र कार्यशैलीको आलोचना गर्दै सङ्घर्षका कार्यक्रम चलाइरहेका बेला सत्तारूढ दलमात्रै नभएर सरकारकोे नेतृत्कर्ता दल एमाले नै सडकमा शक्ति प्रदर्शनमा उत्रन लागेको हो ।
जागरण सभा संयोजन समितिका सहसंयोजक एवं नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले मंसिर ७ गते उपत्यकाका तीन जिल्लाको एमाले तागत देखिने बताए ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले यसअघि कात्तिक १० गते सरकारलाई खबरदारी गर्न काठमाडौँको भृकुटीमण्डमा खबरदारी सभा गरेको थियो । काठमाडौँपछि माओवादी केन्द्रले देशैभर (७५३ वटै) पालिकामा समेत खबरदारी सभा गर्ने घोषणा गरिसकेको छ ।
अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक प्रतिशोध साँधेर सहकारी प्रकरणमा आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरी अनावश्यक दुःख दिएको भन्दै कात्तिक ३ गतेबाटै विरोध प्रदर्शन गर्दै आएको छ ।