रुपन्देही ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज तेस्रो दिन पनि जारी छ । रविको आज तेस्रो दिन सरकारी वकिल कार्यालय रुपन्देहीमा लिखित बयान जारी छ ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रुपन्देहीको भैरहवा लगिएका थिए ।
जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बिहान कार्यालय खुलेसँगै बयान लिएर सक्ने तयारी छ । बयान सकिए लामिछानेलाई आजै कास्की ल्याइने तयारी भएको छ ।
मङ्गलवार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा लगिएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मङ्गलवारदेखि नै नियमित बयान लिइरहेको छ ।
लिखित बयानमा सरकारी न्यायाधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता छ । बयानका आधारमा पुरुक प्रतिवेदन बनाउने तयारी छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका लामिछानेलाई प्रहरीको ठूलो घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराउने र लैजाने गरिएको छ । बयान चलिरहँदा भैरहवामा सरकारी वकिल कार्यालय आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै सहकारी पीडित र रास्वपाका कार्यकर्ताले भैरहवामा प्रदर्शन गरेका छन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नारा जुलुस गर्न बन्देज गरेको छ ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
जोशी र लामिछानेसहित जीवी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।