काठमाडौँ ।
निर्वाचन आयोगले मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तह उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ । जसअनुसार अद्यावधिक विवरणअनुसार देशभर कुल ३९ हजार ८४९ मतदाता थप भएका छन् ।
यस्तै उपनिर्वाचन हुने स्थानीय तहमा महिला मतदाता १ लाख ११ हजार ८९६, पुरुष मतदाता १ लाख १४ हजार ९०० र अन्य मतदाता ३ गरी कूल मतदाता २ लाख २६ हजार ७९९ मतदाता कायम भएका छन् ।
ती मतदाताका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र स्वीकृत भएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।उनका अनुसार आयोगको सोमबार बसेको बैठकबाट अन्तिम मतदाता नामावली स्वीकृति गरी वेबसाइटमा प्रकाशन गरिएको हो ।
स्वीकृत मतदाता नामावली बमोजिम मङ्सिर १५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरू मध्ये महिला मतदाता ८९ लाख ३ हजार १९७, पुरुष मतदाता ९२ लाख २५ हजार ४४८ र अन्य मतदाता १८७ गरी कूल १ करोड ८१ लाख २८ हजार ८३२ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको उनले बताए ।
प्रदेशगत रुपमा सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा रहेका छन् भने सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा रहेका छन् ।त्यसैगरी जिल्लागत रुपमा सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा र सबैभन्दा कम मतदाता मनाङ जिल्लामा छन् ।
मङ्सिर १६ गते ४४ पदका लागि उपनिर्वाचन हुँदै छ ।