मकवानपुर ।
पेट्रोल बोकेको ट्यांकरको टायर मर्मतका क्रममा पड्किएर हेटौंडामा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गर्ने क्रममा टायर पड्किएर ज्यान गुमाउनेमा भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाज रहेका छन् ।
उनी हेटौंडा–११ थानाभर्याङमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका थिए । मर्मतको क्रममा एक्कासि टायर विस्फोटपछि गम्भीर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको हो ।
प्रहरीका अनुसार मंगलबार बिहान १ बजे मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको टयांकरको टायरबाट हावा गएको थियो । टायर खोली मर्मतपछि हावा भर्ने क्रममा टायर विस्फोट भएको हो । टायर विस्फोटबाट उनको टाउको र शरीरको बायाँतर्फ गम्भीर चोट लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार घटनामा पर्साको धोबिनी गाउँपालिका–२ का १८ वर्षीय जाबिर हवारी, मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको ट्यांकर चालक हेटौंडा ११ स्मारका ३९ वर्षीय देवान लामा, अर्को टयांकर चालक धादिकको धुनिबेशी नगरपालिका–२, भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, हेटौंडा–११ नवपलुरका ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका–८ का लक्ष्मण थापा घाइते भएका छन् ।














