सहकारी ठगी प्रकरण

पूर्वगृहमन्त्री रविलाई अनुसन्धानका लागि बुटवल लगियो

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवल लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर सूर्यदर्शन सहकारीको अनुसन्धान भइरहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न बुटवल लगिएको हो । उनलाई पोखरा विमानस्थलबाट गौतमबुद्ध विमानस्थल हुँदै बुटवल प्रस्थान गराइएको छ । लामिछानेलाई बिहान प्रहरीले कडा सुरक्षाकाबीच पोखरा विमानस्थल पुर्‍याएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा २ कात्तिक देखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धमा पनि अनुसन्धान गर्न त्यसतर्फ लगिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बयानलगायत अनुसन्धानका लागि बुटवल पठाइदिन पत्राचार गरेपछि कास्की प्रहरीले उनलाई रुपन्देही पठाएको हो । रुपन्देहीबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । यसअघि छविलाल जोशीलाई बुटवल लगी बयान सकेर पोखरा नै फिर्ता पठाइएको थियो।

जोशी ६ असोजमा र लामिछाने २ कात्तिकमा पक्राउ परेका हुन् । उनीहरूलाई अझै १३ दिन हिरासतमा राख्न कास्की अदालतले जिल्ला प्रहरीलाई अनुमति दिएको छ ।

सहकारी सम्बन्धी संसदीय छानबिन समितिले ५ वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम लगेर अपचलन भएको निष्कर्ष निकाल्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ । १ हजा २ जना बचतकर्ताको ६ करोड १ लाख २३ हजार ७५४ रुपैयाँ ठगीको आरोप उनीहरूमाथि छ। बचतकर्ताको रकम यी २८ प्रतिवादीको संलग्नतामा विभिन्न व्यक्तिको नाममा अपचलन गरेको यसअघिकै अभियोग पत्रमा उल्लेख छ।

उक्त अभियोग पत्रमा पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । तर, उनको नाममा २ करोड रुपैयाँ निकासा पाइएको अभियोग पत्रमा उल्लेख छ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले रकम पठाएका कम्पनीहरूका सञ्चालक समितिहरूको नाम र विवरण पनि राखिएको छ । यसमा पनि रवि लामिछानेको नाम उल्लेख छ। जुन मिसिल अहिले पनि अदालतमै छ। यसअघि मुद्दा दायर गर्दा लामिछानेसँग प्रहरीले सामान्य सोधपुछ गरेर कागज समेत गरेको थिएन ।

गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालकमध्येमा रवि लामिछानेको पनि नाम मिसिलमा खुलाइएको थियो । पछि संसदीय छानबिन समितिले पनि उनको संलग्नता रहेको पुष्टि गर्‍यो। यसरी रकम अपचलन गर्ने कम्पनीमा रवि लामिछानेको एक लाख ८० हजार कित्ता सेयर रहेको देखिएको छ।

  • २७ कार्तिक २०८१, मंगलवार ०८:१३ प्रकाशित