पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार बुटवल लगिने भएको छ। हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर सूर्यदर्शन सहकारीको अनुसन्धान भइरहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न मंगलबार बिहान बुटवल लैजाने तयारी गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनीसँग बयान लगायतका अनुसन्धानका लागि बुटवल पठाइदिन पत्राचार गरेको हो। सूर्यदर्शन सहकारीको ठगी आरोपमा पोखरामा बयान सकिएकाले उनलाई बुटवल पठाउने तयारी भएको कास्की प्रहरीले जानकारी दिएको छ।
बुटवलमा पनि उनीविरुद्ध पक्राउ पूर्जि जारी भइसकेको छ। यसअघि छविलाल जोशी बन्जाडेलाई बुटवल लगेर बयान सकिएपछि पोखरा नै फिर्ता गरिएको थियो।
छविलाल जोशी असोज ६ गते र रवि लामिछाने कात्तिक २ गते पक्राउ परेका हुन्। उनीहरुलाई अझै १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिइसकेको छ। यही बिचमा बुटवलमा पनि अनुसन्धान अगाडी बढाउने तयारी प्रहरीले गरेको छ।
यसअघि रवि लामिछाने गृहमन्त्री हुुँदै बुटवलको सुप्रिम सहकारी ठगीमा अभियोग दायर भएको थियो। अभियोग पत्रमै लामिछानेका नाममा पनि सहकारीको रकम गएको उल्लेख थियो।