असिनापानी र रोगकिराको असरः स्याङ्जामा २० करोडको सुन्तलामा क्षति

एक हजार पाँच सय हेक्टरमा सुन्ताला उत्पादन, यसवर्ष एक अर्वको सुन्तला निकासी हुने

गोविन्द सुवेदी

File photo

पोखरा ।
स्याङ्जामा यो वर्ष सुन्तलामा २० करोड रुपैयाँ बराबरको क्षति भएको छ । विभिन्न रोगकिरा र प्राकृतिक प्रकोपका कारण सुन्तलामा २० करोड रुपैयाँ भन्दा बढीको क्षति भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जानकारी दिएको हो ।

ज्ञानकेन्द्रका बागबानी विकास अधिकृत विकाश विकका अनुसार पतेरोको आक्रमण, फल कुहाउने औंसा र असिनाकाका कारण सुन्तलामा ठूलो क्षति भएको हो । साउन देखि नै पतेरो लगायतका रोग किराका कारण नोक्सानी भोगेका किसानले पछिल्लो ४ कात्तिकमा परेको असिना पानीले झनै क्षति बेहोर्नु परेको उनले जानकारी दिए ।

असिना ठूला नपरेको भएपनि सानो असिना बाक्लै परेको र त्यसले चोट लागेको सुन्तला विस्तारै इन्फेक्सन भएर झरेको कार्यालयका प्रवक्ता समेत रहेका बागबानी विकास अधिकृत विकले जानकारी दिए । पछिल्लो असिनापानीका कारण स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १०, ११ र १३ का साथै भीरकोट नगरपालिकाको वडा नम्बर ७ मा धेरै क्षति भएको छ ।

असिना पानीकै कारण ती क्षेत्रका किसानको ५० लाखको हाराहारीमा सुन्तला झरेर नष्ट भएको उनले बताए । ‘स्याङ्जामा यस वर्ष साउनदेखि हेर्ने हो भने पतेरो, फल कुहाउने औंसा र असिनापानीले गर्दा फलमा चोट लागेर भएको संक्रमणका कारण समग्रमा २० करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ’ उनले भने ।

किसानले सुन्तला टिप्ने समय आउन अझै झण्डै एक महिना बाँकी छ । मंसीरको अन्तिम देखि पुस महिनाभर बारीमा पुगेर व्यवसायीहरुले सुन्तला लैजाने गर्दछन् । पुतलीबजार १३ का किसान डण्डपानी सुवेदीले सुन्तला दिनप्रतिदिन झर्दै गएको र अहिले बोटमा भन्दा धेरै भुइमा झरेको बताए । उनले सुन्तला टिप्न नै नपाइने होकी भन्ने चिन्ता लागेको सुनाए । ‘सुन्तला फूल खेल्दैदेखि झर्न थालेको हो । अहिले जति टिप्ने बेला भयो त्यति धेरै झर्दै गएको छ । सबै झरेर टिप्न नै नपाइने हो की भन्ने चिन्ता भयो’ उनले भने ।

स्याङ्जामा एक हजार पाँच सय हेक्टर उत्पादनशील क्षेत्रमा सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए । उनका अनुसार प्रति हेक्टर १६ मेट्रिक टनका दरले उत्पादन हुनेगरेको छ । यो वर्ष एक अर्ब ४४ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन हुने र एक अर्ब रुपैयाँ बराबरको सुन्तला निर्यात गरिने कार्यालय प्रमुख हमालले जानकारी दिए । सुन्तला खेती तर्फ किसान आकर्षित भएका र आगामी वर्षमा उत्पादन अझै बढ्दै जाने उनले बताए ।

 

 

 

 

  • २७ कार्तिक २०८१, मंगलवार १३:४४ प्रकाशित