काठमाडौं ।
इजरायलले लेबनानमा गरेको आक्रमणमा सात बालबालिकासहित २३ जनाको ज्यान गएको छ । राजधानी बेरुतको उत्तरी क्षेत्र बायब्लोस नजिकको अलमत भन्ने स्थानमा इजरायलले आक्रमण गर्दा २३ जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायलको रक्षा बलले भने हिजबुल्लाह बसेको स्थानमा आक्रमण गरेको दाबी गरेको छ । सर्वसाधारण नागरिकलाई क्षति नपुगोस् भनेर पर्याप्त ध्यान दिइएको इजरायलको दाबी छ । त्यसअन्तर्गत हवाई निगरानी र सटिक गुप्तचर परिचालन गरिएको थियो ।
इजरायलले पछिल्लो समय इरान समर्थित लेबनानको सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।शनिबार मात्रै इजरायलले गरेको आक्रमणमा ५३ जनाको ज्यान गएको थियो ।इजरायलले हमासविरुद्ध गाजा क्षेत्रमा पनि आक्रमण जारी राखेको छ । आइतबार दुई वटा घरमा आक्रमण हुँदा ३० जनाको ज्यान गएको थियो ।
गत वर्ष अक्टुबर ७ मा प्यालेस्टाइन भूमिबाट इजरायलमा घुसेर हमास लडाकुहरुले आक्रमण गर्दा १० नेपालीसहित करिब १ हजार २०० जनाको ज्यान गएको थियो । हमासले नेपालका विपिन जोशीसहित २५१ जनालाई बन्धक बनाएको थियो । हमासले बन्धक बनाएका केहीलाई रिहा गरे पनि विपिनको अवस्था अज्ञात छ ।