कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

केन्द्रभाग मिडिया

विराटनगर ।

विराटनगरस्थित निवासबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं पठाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ परेका अधिकारीलाई विमानबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ ।

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो ।

मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो ।

शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अधिकारीले भने आफूलाई फसाइएको दाबी गरेका छन् ।

  • २५ कार्तिक २०८१, आईतवार १४:०९ प्रकाशित