तेस्रो अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौडमा नेपाली धावकहरूको बर्चश्व

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा शनिबार सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौडमा च्यालेन्ज इन्डिभिजुअल इभेन्टतर्फ महिला र पुरुष दुबैतर्फ चिनियाँ धावक बिजेता बन्दा टिम इभेन्टतर्फ नेपाली धावकहरुले सबै पदकमा कब्जा जमाए ।

च्यालेन्ज इन्डिभिजुअलमा चिनका धावक एङ ज्याङ जेनले ३ घन्टा ४४ मिनेट १२ सेकेण्डमा दुरी पार गर्दै बिजेता बनेभने च्यालेन्ज इन्डिभिजुअल महिलातर्फ चिनियाँ धाविका झेङ वाङ रोङ बिजेता बनेकी छन् ।

च्यालेन्ज इन्डिभिजुअल दौड भने नेपाली र चिनियाँ धावक बिच निकै रोचक रह्यो । सोही इभेन्टमा नेपाली धावक कुल बहादुर बस्नेत ४ मिनेट १० सेकेण्डले पछि पार्दै दोस्रो बने । उनले आफ्नो दौड ३ घन्टा ४८ मिनेट ०२ सेकेण्डमा पुरा गरेका थिए ।

त्यस्तै नेपालकै होमलााल श्रेष्ठ तेस्रो भएका छन् । उनले ३ घन्टा ५३ मिनेट ३३ सेकेण्डमा रेस पुरा गरे । यस्तै पुरुषतर्फ गोपाल तामाङले ३ घन्टा ५५ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरी चौथो हुँदा तिलक सुनारले ४ घन्टा ४६ सेकेण्डको समयमा दुरी पार गर्दै पाँचौ भएका छन् ।

यता महिलातर्फ च्यालेन्ज इन्डिभिजुअल इभेन्टतर्फ समेत चिनियाँ धाविका झेङ वाङ रोङ बिजेता बनेकी छन् । उनले उक्त दौड ४ घन्टा ४१ मिनेट ४८ सेकेण्डमा पुरा गरेकी हुन् भने नेपाली धाविका कल्पना बुढा उपविजेता बनिन । ९ मिनेटले पछि रहेकी उनले उपविजेता बन्न ४ घन्टा ५० मिनेटको समय लगाइन ।

यस्तै महिलातर्फ नै ५ घन्टा ८ मिनेट १८ सेकेण्डमा दौड पुरा गरी राम माया बुढा तेस्रो हँुदा, लाक्पा निङमा शेपाले ५ घन्टा २५ मिनेट २५ सेकेण्डमा दौड पुरा गरी चौथो र मिनु बुढाले ५ घन्टा ३० मिनेट ३९ सेकेण्डमा दुरी पार गरी पाँचौ स्थान हासिल गरिन् ।

च्यालेन्ज इण्डिभिजुअल दौडतर्फको पुरुष तथा महिला दुवै तर्फको बिजेताले १ लाख ५२ हजार ८ सय, उपबिजेता दुवै तर्फकाले १ लाख १४ हजार ६ सय, तृतीय हुने दुवै तर्फकाले ७६ हजार ४ सयका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

टिम क्रस कन्ट्रि टिम इभेन्टमा भने नेपाली खेलाडीहरुले बर्चश्व बनाए । नेपाली टिम शुसिल शाही, सिर्जना पौडल र श्रीकश राई सम्मिलित टिमले ४ घन्टा २० मिनेट १४ सेकेण्डमा रेस पुरा गरी च्याम्पियन बने । यस्तै नेपाल टिम करन रावत, नरेन्द्र सिंह रावत र निर्मला राई सम्मिलित टिमले ४ घन्टा २२ मिनेट २९ सेकेण्डमा रेस पुरा गरी दोस्रो भए । उनीहरु सबै नेपाल आर्मीका धावकहरु हुन् ।

यस्तै पुष्पा भण्डारी, लक्ष्मण भण्डारी र निरज भट्टको टोलीले तेस्रो स्थान हात पारेको छ । उनीहरुले आफ्नो रेस ४ घन्टा २३ मिनेट ०८ सेकेण्डमा पुरा गरेको टेक्निकल टिमका हरि बहादुर बरुवालले पोखरा स्पोर्टसलाई जानकारी दिए । उनीहरु नेपाल एपिएफ क्लबका धावकहरु हुन् ।

रेसमा ४ घन्टा २८ मिनेट २६ सेकेण्डको लिंदै विशाल राई, रमेश लिम्बु र इन्द्रकला राईको टोली चौथो भएको छ भने पूर्ण लक्ष्मी राई, खड्ग बहादुर खड्का र राजन रोकायाको टोलीले पाँचौ स्थान हात पारेको छ । पाँचौ स्थान हात पारेका उनीहरु नेपाल आर्मीका हुन् । प्रतियोगिताको टिम इभेन्टतर्फका बिजेताले चार लाख ५८ हजार ४ सय रुपैयाँ, उपविजेताले तीन लाख ४३ हजार ८ सय रुपैयाँ, तृतीयले २ लाख २९ हजार २ सय रुपैंयाँ, चौथोले १ लाख ५२ हजार ८ सय रुपैयाँ र पाचौंले ९५ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त हात पारेका छन् ।

प्रतियोगिता नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र काठमाडौँस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजना तथा हिमालयन टुरिजम फोरमको ब्यवस्थापनमा सम्पन्न भएको थियो ।

  • २४ कार्तिक २०८१, शनिबार १९:२० प्रकाशित