सरकारको कार्यशैलीप्रति शेखर कोइरालाको असन्तुष्टि

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । सात बुँदे सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमति अनुसार कुनै काम नगरेको उनको भनाइ थियो ।

शनिबार कांग्रेस त्रियुगाले उदयपुरमा आयोजना गरेको बीपी कोइरालाको शालिक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले वर्तमान सरकार संविधान संशोधन लगायतका महत्त्वपूर्ण काम गर्ने गरी कांग्रेससँगको ७ बुँदे सहमतिमा निर्माण भएको बताउँदै सरकारले संविधान संशोधनको कार्य सुरु नगरेकामा आपत्ति जनाए । संविधान संशोधन गर्न वर्तमान सरकारले अन्य दलसँग पनि सहकार्य सुरु गर्नुपर्ने उनले बताए ।

कोइरालाले सात बुँदे सहमति कार्यान्वयनको अवस्थाबारे अब प्रश्न उठाउनु पर्ने बेला आएको समेत बताए । त्रियुगा नगरपालिका वडा नं ११ स्थित मदन भण्डारी राजमार्गको बिचमा निर्माण गरिएको सालिकको अनावरण गर्दै नेता कोइरालाले बीपी कोइरालाको विचारलाई अनुसरण गर्ने हो भने सरकारले गरेका असल कार्यको प्रचार र खराब कार्यको विरोध गर्न सक्नुपर्ने पनि बताए ।

  • २४ कार्तिक २०८१, शनिबार १८:१८ प्रकाशित