काठमाडौं ।
नेकपा (एमाले) को शनिबार सम्पन्न सचिवालय बैठकले सिंगो पार्टी पङ्तिmलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।
बैठकले निर्वाचनका लागि सिफारिस भइआएका पार्टीका उम्मेदवारको नाम पनि अनुमोदन गरेको छ । निर्णय भइआएका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने काम गरेको र सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान पनि गरेको बैठक पछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
स्थानीय तह उपनिर्वाचनमा सत्ता सहयात्री दलसँग पनि स्वस्थ प्रतिस्पर्धा हुने बताउदै ज्ञवालीले निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा राजनीतिक दलहरूसँग सहकार्य हुनसक्ने बताए । बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिमा आएका नयाँ घटनाक्रम र त्यसले नेपालमा पार्ने अनुकूलता र चुनौतीका विषयमा पनि समिक्षा भएको उनले बताए ।
बदलिँदो अन्तर्राष्ट्रिय घटनाक्रमलाई ध्यानमा राखी राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग सन्तुलित, असल र राष्ट्रिय हितको सम्बन्धलाई अघि बढाउन सरकारलाई बैठकले सुझाव दिएको ज्ञवालीले बताए ।
बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा पनि गरेको उनले जानकारी दिए । सरकारको कामलाई अझ प्रभावकारी बनाउन बनेको दुई दलीय संयन्त्रको बारेमा पनि बैठकमा छलफल भएको छ । त्यस्तै, कोशी प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारीमाथि पार्टीको प्रदेश कमिटीले गरेको कारबाहीलाई बैठकले अनुमोदन गरेको छ ।
अधिकारीलाई पार्टी सदस्यतासहित सबै जिम्मेवारीबाट निलम्बन गरिएको छ । अधिकारीमाथि हुने छानबिनमा पार्टीले पूर्ण सहयोग गर्ने निर्णय पनि बैठकले गरेको ज्ञवालीले जानकारी दिए ।