पोखरामा अन्तर्राष्ट्रिय उडानमा समस्या हो भने भनौं, नत्र अफवा नफैलाऔं : पर्यटनमन्त्री पाण्डे

केन्द्रभाग मिडिया

पोखरा ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न भइरहेको बेवास्ताको खोजी आफूले गर्ने बताएका छन् । शनिबार होटल संघ पोखराले आयोजना गरेको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । मन्त्री पाण्डेले पोखरा विमानस्थलको विषयमा अनावश्याक अफवा फैलाउने गरिएकोे टिप्पणी गरे । उनले पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि प्राविधिक समस्या हो भने भन्न र नभए अनावश्यक हल्ला नफैलाउन चेतावनी समेत दिएका छन् ।

मन्त्री पाण्डेले पोखरा विमानस्थल उडानका लागि उपयुक्त छैन भन्ने जस्ता भ्रम फैलाइएका उल्लेख गरे । ‘पोखरामा न्यारोबडी जहाज उडान पनि क्षमताको ४० प्रतिशत लोड हटाउनुपर्छ भनेका छन् । कुन आधारमा यसो भनिएको हो ? चाइनबाट पोहोर विमान चार्टर गरेर आउँदा ८३ जना आए । क्षमता रहेनछ त्यही हो क्षमता भनेर घटाइयो भनियो । अहिले १२० जना आउनुभयो । अहिले कूल क्षेमताको ४० प्रतिशत घटाइएको होइन होला नी ! यसले ४० प्रतिशत लोड हटाउनुपर्छ भन्ने कुरालाई खण्डन गरेको छ ।’ उनले भने, ‘क्यान लगायत हाम्रो टेक्निकल टिम छ । उसले टेक्निकल्ली समस्या छ भने यो समस्या होे भनेर भनोस् । नत्र अफवा फैलाउने काम बन्द गर्नुपर्छ’

पर्यटन मन्त्री पाण्डेले पोखरा विमानस्थल र गौतमबुद्ध विमानस्थललाई सञ्चालनका लागि कार्ययोजना बनाएरै छुटको अफर दिँदा पनि पोखरा विमानस्थलमा उडानका लागि चासो नदेखाएको विषय भने चिन्ताको विषय भएको उल्लेख गरे । ‘कार्यायोजना बनायौं, सौलियत पनि दियौं । तर आकर्षण देखिएन’ उनले भने ।

मन्त्री पाण्डेले टेक्निकल्लि समस्या छैन भनेर परीक्षणको रुपमा नेपाल एयरलाइन्सकै जहाज उडाएर देखाइने पनि दृढता प्रकट गरेका छन् । दसैंमा यात्रु चाप भएका बेला न्यारोबडीको जहाज पोखरा र भैरहवा उडाउने भनिएपनि अन्तर्राष्ट्रिय उडानको चाप लगायतका विभिन्न कारणले पोखरा उडाउन नसकिएको तर्क गरेका उनले कुनै मेसो मिलाएर पोखरामा नेपाल वायु सेवा निगमकै जहाज चलाउने प्रतिवद्धता भने जनाएका छन् ।

सो अबसरमा पोखरा विमानस्थल सञ्चालन, देशकै पर्यटकीय राजधानी सहर पोखराको विकास र पर्यटन व्यवसायमा देखिएका समस्या समाधानका लागि होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले होटल संघ पोखराको तर्फबाट र पोखरा पर्यटन परिषदको तर्फबाट अध्यक्ष तारानाथ पहारीले ध्यानाकर्षण पत्र बुझाएका थिए ।

नेपाल पर्यटन वोर्डका पूर्व बोर्ड सदस्य बासु त्रिपाठी, पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई, होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, ओटेभ पोखराका अध्यक्ष उमा भण्डारी, विभिन्न पर्यटकीय संघ संस्थाका अध्यक्ष एव अगुवा पर्यटन व्यवसायीहरु अनिल केसी, धर्मराज पन्थी, रुपक मिश्र र होटल संघ पोखराका दृतिय उपाध्यक्ष गणेशराज पहारी लगायतले विभिन्न समस्या र समाधानका उपाएको बारेमा बोलेका थिए ।

 

  • २४ कार्तिक २०८१, शनिबार १६:२९ प्रकाशित