काठमाडौँ ।
अमेरिकी राष्ट्रपति चुनावले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएसँगै सुनको भाउ घटेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बिहीबार सुनको मूल्य तीन हप्तायताकै तल्लो विन्दुमा पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारअनुसार नेपाली बजारमा पनि एकैदिन तोलामा ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
बुधबार भने सुनको भाउ १ लाख ६८ हजार ५ सय रुपैयाँ थियो । नेपाली बजारमा सुनको भाउ कात्तिक १५ गते अहिलेसम्म महँगो १ लाख ७१ हजार रुपैयाँ थियो । त्यस्तै बिहीबार बुधबारको तुलनामा प्रतितोला ५५ रुपैयाँले घटेर चाँदीको भाउ १ हजार ९ सय ६० पुगेको छ ।
ट्रम्पको जितसँगै अमेरिकी डलर बलियो भएका कारण सुनको मूल्य घटेको हो ।नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।ट्रम्पले आफ्नो चुनावी घोषणापत्रमा अमेरिकी डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गरेका छन् ।