पोखरा ।
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईले सेवा ग्राही कार्यालयका काम सेवाग्राही मैत्री बनाउनेतर्फ केन्द्रीत हुन आग्रह गरेकी छिन्।
गृह जिल्ला कास्कीस्थित शिक्षा सम्बद्ध कार्यालयहरूको अवलोकनका क्रममा कार्यालय प्रमुख र कर्मचारीहरूसंगको अन्तरक्रीया कार्यक्रममा मन्त्री भट्टराईले स्रोत साधनलाई दोष दिएर सेवा प्रबाहमा ढिलासुस्ती हुन नहुने भन्दै हरेक सेवा प्रबाहमा संरचना बाधक भए तत्काल समय सापेक्ष बनाउनेतर्फ लाग्न आग्रह गरे ।
राज्यका हरेक निकाय नागरिकका मौलिक हकहरूको संरक्षक समेत भएको हुँदा सबै निकाय इमान्दारीपूर्बक आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न लागि पर्नुपर्ने मन्त्री भट्टराईको भनाइ थियो।
प्रदेश र स्थानीय तह सहित संघ सरकारको समेत अपनत्व हुने गरी संरचना निर्माणका लागि मन्त्रालय लागि परेको भन्दै अब निजि र सरकारी शिक्षा भन्दा समग्र शिक्षा कस्तो बनाउने भन्नेतर्फ बहस केन्द्रित भएको भन्दै मन्त्री भट्टराईले छिट्टै जारी हुने शिक्षा ऎन मार्फत यसको सम्बोधन हुने जानकारी दिइन् ।
शिक्षाको गुणस्तर बढाउन दक्ष र तालिम प्राप्त शिक्षकको महत्त्वपूर्ण भुमिका हुने हुँदा उनीहरुको क्षमता विकासका काममा लाग्न कर्मचारीहरूलाइ निर्देशन दिए ।
सो अवसरमा प्राविधिक शिक्षाका शिक्षालयहरू थप ब्यबस्थित र प्रभाबकारी बनाउन प्रदेशस्तरबाटै मनिटरिङ गर्ने व्यवस्था व्यवहारिक र बैज्ञानिक हुने जिकिर गरे ।
अन्तरक्रीया लगत्तै मन्त्री भट्टराईले कास्कीस्थित शिक्षा विकास समन्वय इकाई , शिक्षा विकास निर्देशनालय , प्रादेशिक परिक्षा बोर्ड लगायतका कार्यालयहरूको अवलोकन सहित सेवा प्रवाहको अवस्था सम्बन्धमा जानकारी लिएकी थिइन् ।