गण्डकी प्रदेश सभा सदस्य मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

केन्द्रभाग मिडिया

काठमाडौं ।

गण्डकी प्रदेशका पूर्वमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य राजिब गुरूङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई मंगलबार सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए ।

२०६१ सालमा चक्रे मिलनलाई मनाङेले तरबार प्रहार गरेका थिए। चक्रेको हात काटिएको थियो । पछि उनको हात जोडियो। तर घटनालाई लिएर चक्रेकी श्रीमती इन्दिरा गुरुङले प्रहरीमा मनाङेविरुद्ध ज्यान मार्ने कसुर गरेको भन्दै जाहेरी दिएकी थिइन् । सो उजुरीमा जिल्ला अदालत काठमाडौंले घटनालाई कुटपिट भएको ठहर गरेको थियो भने केहीलाई दुई वर्ष जेल सजाय सुनाएको थियो ।

जिल्ला अदालतको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले मुद्दामा पुनरावेदन गरेको थियो । पाटन पुनरावेदन अदालतले २०६९ सालमा मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष जेल सजायको फैसला गरेको थियो। उक्त फैसलालाई मंगलबार सर्वोच्च अदालतले सदर गरेको हो ।

  • २० कार्तिक २०८१, मंगलवार १९:३६ प्रकाशित