पोखरा ।
पोखराका पूर्ववडाध्यक्ष एवं सामाजसेवी द्रोणराज अधिकारीको निधन भएको छ । तत्कालीन पोखरा नगर पञ्चायत वडा नम्बर ५ का पूर्वअध्यक्ष अधिकारीको आज ७२ वर्षको उमेरमा निधन भएको हो ।
पोखरा ५ पर्स्याङ निवासी अधिकारीको उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा आज बिहान ९ः४१ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । पारिवारिक स्रोतका अनुसार उनी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।
अधिकारी २०३८ देखि २०४६ सम्म २ कार्यकाल पोखरा ५ को वडाध्यक्ष भएको पोखरा महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । उनी बाराही मावि व्यावस्थापन समितिका पूर्वअध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेशका पूर्वसल्लाहकार एवं ज्येष्ठ कम्युनिस्ट मञ्च गण्डकी प्रदेश सदस्य समेत थिए ।
अधिकारीका श्रीमती हरिमाया, छोरा धर्मराज, केशव, दामु, वुद्धि अधिकारी र छोरी इन्दिरा अधिकारी छन् । तीन छोराहरु धर्म, केशव, दामु विभिन्न पेशा, व्यवसाय तथा सामाजिक संघ संस्थामा आवद्ध छन् भने अर्का छोरा वुद्धि इन्जिनियर हुन् । धर्म पोखरा बस व्यवसायी समितिका पूर्वअध्यक्ष, केशव पृथ्वीराज मार्ग बस संञ्चालक कम्पनीका संरक्षक, दामु पोखरा उद्योग वाणिज्य संघ पूर्वअध्यक्ष हुन् ।
अधिकारीको पर्स्याङबाट शव यात्रासहित रामघाटमा अन्त्येष्टि गरिएको छ ।