काठमाडौँ ।
निर्वाचन आयोगले मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनको तयारी तीव्र पारेको छ । उपनिर्वाचनका लागि अधिकांश तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । आयोगले मतपत्र छपाइको विषयमा भने निर्णय गर्न बाँकी रहेको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त अमेरिकामा भइरहेको राष्ट्रपति निर्वाचनको पर्यवेक्षणको कार्यक्रम सकेर कात्तिक २४ गते स्वदेश फर्किएपछि मात्र मतपत्र छपाइ लगायत केही महत्त्वपूर्ण विषयमा निर्णय हुने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिएका छन्।
आयोगले निर्वाचनका लागि मतपत्र छपाई, ढुवानी लगायत विभिन्न विषयहरूमा निर्णय गर्न बाँकी रहेको उनको भनाइ छ ।
स्थानीय तहमा विभिन्न कारणले रिक्त रहेका ४४ पदमा उपनिर्वाचन हुँदैछ । नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख गरी कुल रिक्त ४४ पदहरूमा निर्वाचन हुन लागेको हो ।