स्याङजा ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले १५ लाख रुपियाँको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी जिल्लाका विभिन्न बजारको साथै पाल्पा, कास्की, रुपन्देही लगायतका जिल्लामा पठाइएको हो ।
पालिकाका ३ विद्यालय र १७ जना कृषकले व्यावसायिक रूपमा गर्दै आएको सयपत्री फूलको पालिकाले बजारीकरण गरिदिएको हो । गएको वर्ष लागतको आधारमा ५० प्रतिशत अनुदान पाएका कृषकले यो वर्ष उत्पादनका आधारमा अनुदान दिने तयारी रहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।
कालीगण्डकी गाउँपालिकाका कृषकले उत्पादन गरेको सयपत्री फूलका १५ हजार माला र दुई हजार किलो फूल बिक्री भएको उहाँले जानकारी दिए । फूल माघसम्म नै बजारमा पठाउन सकिने भएकाले आम्दानी बढ्ने अध्यक्ष थापाको भनाइ छ । गएको वर्ष सयपत्री फूल खेतीबाट पालिकाका कृषकहरूले ३० लाखभन्दा धेरै आम्दानी गरेका थिए ।
पालिकाको ४० रोपनीभन्दा धेरै क्षेत्रमा व्यावसायिक रूपमा नै फूल खेती हुँदै आएको कृषि शाखा प्रमुख अनुप पौडेलले बताए । फूलखेतीका लागि पालिकाले विभिन्न वडामा पकेट क्षेत्र तोकेको छ । वडा नं.१ को धरादी, २ को लसर्घा, ३ को देउराली, ५ को बाँसटारी, टाप र लिहाग ६ को कुणादी र ईसमिल, ७ को बारिचौर लगायतका ठाउँमा व्यावसायिक फूल खेती हुँदै आएको पौडेलले बताए । यस्तै, पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत पालिकाको अनुदान सहयोगमा ध्रुवज्योती मावि, देउराली मावि र मिर्मी आधारभूत विद्यालयमा फूलखेती गर्दै आएका छन् ।
फूल उत्पादन र बजारीकरणका लागि गाउँपालिकाले हेफर प्रोजेक्टसँग सहकार्य गरेको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय पोख्रेलले जानकारी दिए । उनले भने, “साझेदारीमा काम गर्दा बजारीकरणमा निक्कै सहज भयो ।”
कालीगण्डकी–७ मा रहेको नमुना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले पालिकाले बजारको जिम्मा लिँदा आफूहरूलाई सहज भएको बताए । उनले भने, “बजारीकरणमा पालिकाले सहजीकरण गर्दै आएको छ हाम्रो ध्यान उत्पादन तर्फ मात्रै छ ।”