करारका कर्मचारी हटाउने निर्णय कार्यान्वयन गर्दै पोखरा महानगर

तिहार लगत्तै १० इन्जिनियर र १८ सबइन्जिनियर हट्ने, थप निर्णय आगामी कार्यपालिका बैठकले गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाले २८ जना कारारमा कार्यारत कर्मचारी हटाउने विगतको निर्णयलाई कार्यान्वयन गर्ने भएको छ । आज बसेको ३६ औं कार्यपालिका बैठकले उनीहरुलाई तिहारलगत्तै हटाउने निर्णय गरेको हो ।

आज बिहिबार बसेको कार्यपालिका बैठकले गत २९ पुसमा बसेको बसेको २५ औं कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको पोखरा महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिवशमान प्रनाङ्गले जानकारी दिए । गत पुस २९ गते बसेको २५ औं कार्यपालिका बैठकले करारमा रहेका कर्मचारी हटाउने निर्णय गरेको थियो । त्यो निर्णयलाई कार्यान्वयन गर्ने आजको कार्यपालिका बैठकको निर्णय हो ।’ उनले भने, ‘अहिले कनिष्टताका आधारमा कर्मचारी हटाउँदै जाने भन्ने निर्णय छ । सुरुमा करारमा रहेका केही इन्जिनियर र सबइन्जिनियर हट्नुहुन्छ । उहाँहरुको ठाउँमा लोकसेवा आयोगबाट पदपुर्ति भइसकेको छ ।’

उनका अनुसार महानगरमा सेवारत १० जना इन्जिनियर र १८ जना सबइन्जिनियरलाई हटाउने आजको कार्यपालिका बैठकले निर्णय गरेको हो । महानगरको २५औं कार्यपालिका बैठकले करारमा रहेका कर्मचारीको ६ महिनाको म्याद थप्ने निर्णय गर्दै लोकसेवाबाट सिफारिस भएर आएपछि करारमा रहेका सेवा अवधिका आधारमा हटाउँदै जाने व्यवस्था मिलाउने निर्णय गरेको उनले बताए । यस अगाडि उक्त निर्णय कार्यान्वयनका लागि नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले महानगरका प्रमुख धनराज आचार्यलाई दबाब स्वरुप समय तोकेरै ज्ञापनपत्र बुझाएका थिए ।

उनीहरुलाई नियमानुसार कात्तिकसम्मको पारिश्रमिक र चाडपर्व खर्चसमेत दिएर बिदाइ गरिने महानगरको भनाइ छ । त्यस्तै, ५ जना शिक्षिका, २ जना सामाजिक परिचालिका गरी ७ जना कर्मचारीको हकमा भने कार्यालय सहयोगीको जिम्मा दिइने भएको छ । कार्यालय सहयोगीको पदमा काम गर्न राजी भएमा ०८१ पुससम्म सेवाअवधि थप गर्ने र मञ्जुर नभएमा कात्तिक मसान्तबाटै अवकास दिनेसमेत महानगरले निर्णय गरेको छ ।

बाँकी रहेका अन्य सेवा करार कर्मचारीको सन्दर्भमा भने यसपछि बस्ने कार्यपालिका बैठकमा थप निर्णय लिइने वडाध्यक्ष प्रधानांगले बताए । असार मसान्तका लागि थपिएको करारका कर्मचारीको म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा त्यसपछि महानगरले कुनै निर्णय नै गरेन तर करारका कर्मचारीलाई हाजिर गराउने र काममा लगाउने काम हुँदै आएको थियो ।

  • १५ कार्तिक २०८१, बिहीबार १३:४४ प्रकाशित