सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तिहार हिरासतमै बित्ने भएको छ । रविलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आजबाट सकिएको छ । कास्की जिल्ला अदालतले गत बिहीबार उनीमाथिको अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।
अर्थात् प्रहरीले रविलाई कात्तिक १४ गतेसम्म हिरासतमा राख्न अनुमति पाएको थियो । तर, कात्तिक १५ गते (आज)देखि तिहार बिदा सुरु भएकाले उनलाई सात दिने म्याद सकिएलगत्तै प्रहरीले अदालतमा उपस्थित गराउन नमिल्ने भएको छ । यससँगै उनको तिहार हिरासतमै बित्ने भएको हो । तिहार बिदापछि कात्तिक २० गतेमात्र सरकारी कार्यालय खुल्ने छ ।
त्यसैले प्रहरीले रविलाई कात्तिक २० मा मात्र अदालतमा उपस्थित गराउने छ । त्यतिबेला फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । त्यतिबेला अदालतले तिहार बिदासमेत गणना हुने गरी म्याद थपबारे निर्णय गर्नेछ ।
त्यसो त, तिहार बिदामा रवि लामिछानेका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट निवेदनसमेत दायर गर्न सकिन्छ । बन्दी प्रत्यक्षीकरणको रिट भने पर्व बिदामा समेत अदालतले हेर्ने छ ।