पोखरा ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ माथि पनि सहकारी अपचलनको सम्बन्धमा अनसुन्धान हुनेभएको छ । बुधबार पोखरामा प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति गुरुङ माथि पनि अनुसन्धान हुने जानकारी दिएका हुन् ।
उनले कसैको मुख हेरेर नभई तथ्य प्रमाण हेरेर अनुसन्धान हुनेभएकाले पार्टीका उपसभापति गुरुङ माथि पनि अनुसन्धान हुने टिप्पणी गरे । ‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उनले भने, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’
उनले पूर्वाग्रह र प्रतिशोध देखाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको भन्ने रास्वपाको आरोपलाई खारेज गरेका छन् । कुनै प्रतिशोध या पूर्वाग्रह नभई संसदीय छानबिन समितिको सिफारिस अनुसार पूर्वगृहमन्त्री लामिछानेमाथि छानबिन भइरहेको उनले प्रष्टिकरण दिए । ‘एक जना व्यक्ति विशेषमा केन्द्रित भएर छानविन गरिएको होइन, सहकारीको रकम हिनामिनामा धेरै मानिस काराबाही परेका छन् । केही मानिस न्यायिक हिरासतमा हुनुहुन्छ ।’
उनले भने, ‘रविजी र छविजी (पूर्व डीआईजी छविलाल जोशी) माथि अनुसन्धान अगाडि बढाएको हो ।’ गृहमन्त्री लेखकले समितिले कारबाही सिफारिस गरेका मध्ये कुमार रम्तेल जेलमा रहेको समेत स्मरण गराएका छन् ।
लाखौं मानिसको अर्बौं अपचलन भएको भन्दै गृहमन्त्री लेखकले बचत फिर्ता गर्ने र ठगी गर्नेहरुलाई कारबाही गर्ने सुनिश्चिता गर्न सरकार लागेको उनले बताए ।
https://www.facebook.com/share/v/Q66WBq7G5ZkQsWNP/