काठमाडौँ ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले तत्काल एमाले र माओवादी केन्द्रबिच एकता सम्भव नभएको बताएका छन् । बुधबार काठमाडौँमा भएको ‘नेकपा कम्युनिस्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक अन्तर्क्रियामा बोल्दै ज्ञवालीले दुई पार्टीबिच एकता असम्भव भएको बताएका हुन् ।
‘अहिले माओवादी र एमालेबिच एकता सम्भव छैन । तत्काल एमालेसँग एकता सम्भव छैन तर भविष्यमा हुँदै हुँदैन भन्ने हुँदैन । एकता हुन सक्छ । अहिले जोजोसँग एकता सम्भव छ गर्नुपर्छ । एमालेले त एकल बहुमत ल्याउने तयारीमा छ । प्रचण्डजी पनि एकल बहुमत ल्याउने तयारीमा छन्’, उनले भने ।
ज्ञवालीले कम्युनिस्टहरूले अहिले चुनावबाटै जित्ने रणनीति बनाउनु पर्नेमा जोड दिए । तर सत्तामा गएपछि कसले कहाँकहाँ गल्ती गरेका छन्, त्यसमा गम्भीर समीक्षा गर्नुपर्ने उनले बताए । सरकारमा गएर सबै नराम्रो काम भएको छ भन्ने भाष्य ठीक छैन भन्दै उनले दलाल पुँजीवादविरुद्ध कम्युनिस्टहरू मिलेर जानुपर्ने बताए ।