काठमाडौं ।
समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताले बचत रकम फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले अहिलेसम्म ६ हजार एक सय ५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ ।
त्यस्तै चार सय ३८ मागदावीकर्ताको आंशिक भुक्तानी भएको छ । शतप्रतिशत भुक्तानी भएका र आंशिक गरी अहिलेसम्म एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार भुक्तानी गरिएको हो । समस्याग्रस्त घोषणा भएका २२ वटा सहकारीमध्ये अहिलेसम्म तीनवटा सहकारीको मागदावीकर्ताको रकम फिर्ता गरी राफसाफ भएको छ ।
समितिका अध्यक्ष श्रीमणकुमार गौतमले समस्याग्रस्त तीन वटा सहकारीका पीडितको बचत फिर्ता गरी हिसाब राफसाफ गरेपछि बाँकी १९ वटाको समस्या समाधानका लागि काम भइरहेको बताए ।
चालु आर्थिक वर्षको अन्त्यसम्म अन्य नौ वटा सहकारीका मागदावीकर्ताको पनि बचत रकम राफसाफ गर्ने तयारी भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
समस्याग्रस्त सहकारीका ६२ हजार ७ सय भन्दा धेरै सदस्य छन् । उनीहरुको मागदाबी ४० अर्ब रुपैयाँ भन्दा धेरै छ । तर अहिलेसम्म डेढ अर्ब मात्रै फिर्ता भएको छ ।