महोत्तरी ।
महोत्तरीको पिपरामा हत्या गरेको अवस्थामा एक युवतीको शव भेटिएको छ ।
भारतसँग सीमा जोडिएको पिपरा गाउँपालिका–७, दनौलीमा अनुहार जलाइएको अवस्थामा झण्डै २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी दिएका छन्।
सोमबार दिउँसै शव फेला परेपनि अहिलेसम्म सनाखत हुन नसकेको डीएसपी जैसवालले बताएका छन् ।पिपरा ७ दनौली चौरीमा स्थानीय अशोक ठाकुरको आँप बगैँचामा अनुहार जलेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीको अनुसार कालो लेहँगा र हल्का पहेँलो रङको कुर्था लगाएकी युवतीको शव आँप बगैँचाको आलीमा भेटिएको हो । प्रहरीले बताए अनुसार अनुहारमाथि सल राखेर जलाइएको छ। तर, शरीरको अन्य भागमा भने कुनै चोटपटक देखिएको छैन। अनुहार पनि पूरै जलेको छैन। शव पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।
युवतीको हत्या भएको आशंका प्रहरीले गरेको छ। घटनाबारे सुक्ष्म अनुसन्धान थालेको प्रहरीले बताएको छ ।















