अब १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले मंसिर १ बाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताल (काठमाडौं), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर चितवन) मा बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

पौडेलले मन्त्रालयमा पद बहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए । हाल यो व्यवस्था बालबालिकाबाट सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ । राज्यको सामर्थ्यका आधारमा धेरै धनराशि खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति रहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

नेपालले मंसिरको दोस्रो सातादेखि बालबालिकामा हुने क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि निःशुल्क प्राप्त गर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २०८० चैत १४ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि प्राप्तिका लागि सम्झौता गरेको थियो । त्यसको पहिलो खोप मंसिरको दोस्रो साताबाट आउन थाल्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए । सम्झौताअनुसार नेपालले ४ वर्षसम्म ती औषधि निःशुल्क पाउनेछ ।

औषधिको प्रभावकारी वितरण सुनिश्चित गर्न तथा आपूर्ति शृंखला प्रणाली र स्वास्थ्य सेवा सुविधालाई सुदृढ गर्न डब्लूएचओले प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

  • १२ कार्तिक २०८१, सोमबार १०:१४ प्रकाशित